पोखरामा पाँचौँ संस्करणको सिर्जना कप कास्की जिल्ला सामुदायिक माविस्तरीय छात्र–छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो। पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दर्शकको मन जित्ने गरी खेल्न खेलाडीहरूलाई आग्रह गरे।
कास्की जिल्ला भलिबल संघ र सिर्जना विकास केन्द्र पोखराले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिता १९ फागुनसम्म चल्नेछ। प्रतियोगितामा छात्रतर्फ ३० र छात्रातर्फ १५ टिम सहभागी रहेका आयोजक केन्द्रका निवर्तमान अध्यक्षसमेत रहेका प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिए।
छात्रछात्रा दुवैतर्फका विजेतालाई समान एक/ एक लाख, उपविजेतालाई ६०/६० हजार र तेस्रोलाई ३५/३५ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
आयोजक केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले प्रतियोगिता नियमित रूपमा सञ्चालन गर्दै जाने र आगामी दिनमा खेलाडीको हितको लागि अक्षय कोषसमेत स्थापना गर्ने बताए। उनले भलिबल एकेडेमी सञ्चालन गर्दै लुकेर रहेको प्रतिभा उजागर गर्दै जाने सोच केन्द्रको रहेको उल्लेख गरे।