मेसी पुनः फिफा वर्ष खेलाडी घोषित

मंगलबार, १६ फागुन, २०७९
डिजिटल संस्करण

अर्जेन्टिनी राष्ट्रिय टिमका कप्तान तथा फ्रान्सेली क्लब पिएसजी स्टार लियोनल मेसी पुनः एकपटक फिफा वर्ष खेलाडी घोषित भएका छन् । 

गएराति पेरिसमा भएको एक विशेष कार्यक्रमबीच मेसीलाई सन् २०२२ का लागि फिफा उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड प्रदान गरियो ।

पिएसजीका समकक्षी केलियन एम्बाप्पे र रियल मेड्रिड स्टार करिम बेन्जिमालाई पछि पार्दै ३५ वर्षीय मेसीले उत्कृष्ट खेलाडीको अवार्ड हात पारे । 

अर्जेन्टिनालाई ३६ वर्षपछि फिफा विश्वकपको उपाधि दिलाएसँगै मेसीले फिफा वर्ष खेलाडीको अवार्ड जित्ने अनुमान गरिएको थियो । 

कतार विश्वकपका दौरान मेसी उत्कृष्ट फर्ममा थिए । उनले फाइनलमा दुईसहित समग्रमा सात गोल गरेका थिए । मेसी सो प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका थिए । 

फिफाले सन् २०२१ अगस्ट ७ देखि २०२२ जुलाई २७ सम्म देश तथा क्लबबाट खेलिएका खेलमा गरेको प्रदर्शनलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरेको छ । मेसीले सो अवधिमा क्लब र देशका लागि ४९ खेलबाट २७ गोल गरेका थिए । 

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले दिएको मतका आधारमा उत्कृष्ट चयन गर्ने गरिएको छ । 

सुझावित समाचार