बालुवाटारभित्रै निवास खोजेका सभामुख महिना दिनदेखि आफन्तको घरमा

मंगलबार, १६ फागुन, २०७९
डिजिटल संस्करण
बालुवाटारभित्रै निवास खोजेका सभामुख महिना दिनदेखि आफन्तको घरमा

अग्नि सापकोटा सभामुख हुँदा बसेको लैनचौरस्थित भवन

सभामुखको बालुवाटारस्थित सरकारी निवासमा राष्ट्रिय सभा अध्यक्ष बसिरहेका छन्, सभामुखले पनि बालुवाटारमै निवास खोजेपछि व्यवस्थापन जटिल

तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा खलबलिएको प्रतिनिधिसभा सभामुख र उपसभामुख तथा राष्ट्रिय सभा उपाध्यक्षको सरकारी निवासको व्यवस्थापन अझै सहज हुन सकेको छैन । सभामुखको बालुवाटारस्थित सरकारी निवासमा हाल राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना बसिरहेको, तर सभामुख देवराज घिमिरेले बालुवाटारमै निवास खोजेपछि व्यवस्थापन जटिल बनेको हो । 

अघिल्ला सभामुख अग्नि सापकोटा बसेको लैनचौरस्थित निवासमा जान अस्वीकार गरेका घिमिरे हाल आफन्तको घरमा बसिरहेका छन् । उनी सभामुख बनेको महिना दिन कटिसकेको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना सभामुखको सरकारी निवास सरेका थिए । तिमिल्सिना बसेको निवास भने तत्कालीन प्रधानमन्त्री ओलीले प्रयोग गरेपछि बालुवाटारमा ठाउँ अभावले महरापछिका सभामुख अग्नि सापकोटा लैनचौरस्थित सरकारी निवास सरेका थिए । सभामुखको निवासमा राष्ट्रिय सभा अध्यक्ष बसेपछि अध्यक्षको निवास रहेको भवन हाल मन्त्रिपरिषद् बैठक बस्ने हलका रूपमा प्रयोग भइरहेको छ ।  सरकारले १५ दिनभित्र व्यवस्थापन गर्ने भने पनि महिना दिन बित्दासमेत निवास व्यवस्थापनमा आलटाल गरिरहेको गुनासो सभामुखको सचिवालयको छ । तर, सहरी विकास मन्त्रालयले भने सभामुख, उपसभामुख र उपाध्यक्षको निवास व्यवस्थापनका लागि आवश्यक गृहकार्य भइरहेको जनाएको छ । 

विगतमा प्रतिनिधिसभा उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको सरकारी निवास मन्त्री क्वार्टर पुल्चोकमै थियो । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फे र तत्कालीन उपाध्यक्ष शशिकला दाहाललाई पुल्चोकमै निवास व्यवस्थापन गरिएको थियो । तुम्बाहाङ्फेपछि दुई महिनाका लागि उपसभामुख भएकी पुष्पा भुसाल सरकारी निवास पाउन झमेला भएपछि बुढानीलकण्ठस्थित आफ्नै घरमा बसेकी थिइन् । यता दाहालको कार्यकाल सकिएपछि लामो समयसम्म उपाध्यक्ष चयन भएन । सभामुख घिमिरेले लिन नमानेको लैनचौर निवास आफूलाई दिन उपसभामुख इन्दिरा रानाले अनुरोध गरिरहेकी छिन् । हाल उनी बसिरहेको घरमा बालबालिका धेरै भएकाले सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आवास मिलाउन सकस भएको छ । ‘कि पुल्चोकमा मिलाइदिनुस्, कि लैनचौरको दिनुस् भनेर पटक–पटक भनेकी छु,’ उपसभामुख रानाले भनिन्, ‘कर्मचारी तहबाट भवन खाली छैन भनेर आलटाल गरिएको छ ।’ सहरी विकासका कर्मचारीले निवास दिन नसकिने र त्यसबापतको भाडा लैजान भनिरहेको उनले बताइन् । 

सभामुखले बस्न नमानेको लैनचौर निवास उपसभामुखलाई दिन आलटाल
४ मंसिरको निर्वाचनबाट आएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचित भएकी इन्दिरा रानाले पनि सरकारी निवास पाएकी छैनन् । सभामुख घिमिरेले लिन नमानेको लैनचौर निवास आफूलाई दिन उपसभामुख रानाले अनुरोध गरिरहेकी छिन् । प्रधानमन्त्री, मुख्यसचिवलाई ध्यानाकर्षण गराइसकेकी छिन् । सभामुखसँग पनि पहल गरिदिन अनुरोध गरेकी छिन् । तैपनि सुनुवाइ नभएको उनले बताइन् । हाल उनी बसिरहेको घरमा बालबालिका धेरै भएकाले सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आवास मिलाउन सकस भएको छ । 

मन्त्रीसरह वरीयताक्रम भए पनि उपसभामुख र उपाध्यक्षको सैनिक बडिगार्ड खोसियो
सरकारको मर्यादाक्रममा उपसभामुख र उपाध्यक्ष आठौँ नम्बरमा छन् । यसमा संघीय मन्त्री, मुख्यमन्त्री, प्रदेश प्रमुखलगायत पनि छन् । संघीय मन्त्रीसरहको वरीयता भएकाले उपसभामुख र उपाध्यक्षको अंगरक्षक एवं निवास सुरक्षामा सेना र अन्य सुरक्षा निकाय खटिने प्रावधान थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि परिमार्जन गर्दै उपसभामुख र उपाध्यक्षको सुरक्षामा सेना हटाएर सशस्त्रमा झारेका थिए । 

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो कार्यकालमा पहल गरेर उपसभामुखलाई सैनिक अंगरक्षक व्यवस्थापन गरेका थिए, त्यतिवेला पूर्णाकुमारी सुवेदी उपसभामुख थिइन् । सुवेदीको पालादेखि सुरु भएको सैनिक अंगरक्षक राख्ने अभ्यास तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिएको एक वर्षपछि गृह मन्त्रालयले कार्यविधि परिवर्तन गरेर सशस्त्रमा झारेको थियो । 

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले सुरक्षा चुनौतीका आधारमा कार्यविधि तय गरिएको बताए । ‘कार्यविधिमा जे छ त्यही हो । वरीयता र प्रोटोकल फरक कुरा हो । सेक्युरिटी थ्रेटको एनालाइसिस गरेर गरेको होला । यो वेला–वेला परिवर्तन भइराख्छ । अब सेक्युरिटीको केही त्यस्तो थ्रेट महसुस भयो भने त्यसमा फेरि परिवर्तन हुन सक्छ,’ उनले भने । उपसभामुख रानाले सेना अंगरक्षकका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइरहेकी छिन् । 

See More On

सुझावित समाचार