बैंक तथा वित्तीय संघसंस्थाहरूको चर्को ब्याजदरविरुद्धमा कञ्चनपुरका उद्योगी–व्यवसायी आन्दोलित भएका छन्।
सोमबारदेखि कञ्चनपुरका उद्योगी–व्यवसायी आन्दोलित भएका हुन्। कञ्चनपुर उद्योग वाणिज्य संघको अगुवाइमा बैंकको चर्को ब्याजदरविरुद्ध महेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन्।
कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले वाणिज्य संघदेखि उद्योगी–व्यवसायीले बजार हुँदै प्रशासनसम्म विरोध प्रदर्शन गरेर ज्ञापनपत्र बुझाएको बताए। महासचिव बोहराका अनुसार प्रशासनमार्फत प्रधानमन्त्री कार्यालयसहित अर्थ मन्त्रालय, राष्ट्र बैंकमा ज्ञापनपत्र पठाइएको छ।
महासचिव बोहराले कोरोना महामारीपछि सबैभन्दा बढी उद्योगी–व्यवसायी मारमा परेको भन्दै कञ्चनपुर उद्योग वाणिज्य संघले ब्याजदर घटाउनुपर्नेदेखि व्यावहारिक नीति खारेजीको एजेन्डा अघि सारेर आन्दोलनमा उत्रिएको बताए।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले पहिलो चरणअन्तर्गत गत १५ फागुनदेखि २० सम्म निरन्तर आन्दोलन हुने र त्यसपछि सशक्त रूपमा आन्दोलन गर्ने बताए।
अध्यक्ष जोशीका अनुसार सोमबारदेखि बिहान ११ बजेसम्म जिल्लाभरिका उद्योगी–व्यवसायी बन्द गरेर विरोध प्रदर्शनमा उत्रिएको बताए।
१८ फागुनमा बैंकमा रकम जम्मा नगर्ने, भएको रकम फिर्ता गर्न लगाउने, २० फागुनमा संघको नेतृत्वमा सबै वस्तुगत संघसंस्थालाई तथा सम्बन्धित पक्षलाई राखेर थप आन्दोलनका कार्यक्रम गर्ने कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले बताए।
कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले चर्को ब्याजदर घटाउनुपर्ने, ऋणको ब्याजदर एक अकंमा राख्नुपर्ने, ऋण लिँदाकाे वेला भएकाे सम्झौताअनुरूप ब्याजदर कायम हुनुपर्नेदेखि अव्यावहारिक नीति खारेजी हुनुपर्ने माग अघि सारेर उद्योगी–व्यवसायी बाध्य भएर आन्दोलनमा उत्रिएको बताए।
कञ्चनपुरका उद्यमी माधवराज जोशीले कुनै पनि बैंक घाटामा नगएको अवस्थामा उद्योगी–व्यवसायी चर्को ब्याजदरका कारण मारमा परेको बताए।