मिर्गौैलाको मुख्य काम रगतलाई फिल्टर गरेर टक्सिन अर्थात् विषाक्त वस्तुलाई पिसाबका माध्यमबाट बाहिर निकाल्नु हो। यसले रगतमा पानी, नुन तथा अन्य खनिज पदार्थलाई सन्तुलित बनाएर राख्छ ।
मिर्गौला फेल हुनुका विभिन्न कारण छन् । सहरी अस्तव्यस्त जीवनशैली, अस्वस्थ खानपानलाई मुख्य कारण मानिन्छ । कतिपय अवस्थामा थाहा नपाई मिर्गाैला फेल पनि हुन सक्छ । कुनै व्यक्तिमा उच्च रक्तचाप, मधुमेह, युरिक एसिडजस्ता रोग छ भने थाहा नपाई मिर्गाैलामा समस्या हुन्छ।
रोकथामका उपाय
- विलासी र सुविधाभोगी जीवनशैलीले मोटोपनसँगै विभिन्न समस्या निम्त्याउँछ । त्यसैले सन्तुलित खाना, सरल जीवनशैली र पर्याप्त मात्रामा व्यायाम गर्नुपर्छ । पानीको मात्रा कम भयो भने मिर्गौलामा पत्थरी हुन सक्छ । दूधजन्य पदार्थ बढी खायो भने पनि पत्थरी हुन्छ । प्रोटिन भएको खानेकुरा अधिक खायो भने पनि पत्थरी हुन्छ । युरिक एसिडको समस्या छ भने पनि पत्थरी हुन्छ ।
- खानपान र अस्वस्थ जीवनशैलीका कारण मधुमेहको समस्या बढ्दै गइरहेको छ । वर्षाैंदेखि मधुमेहको रोग लागेको छ, सन्तुलनमा छैन भने यस्ता व्यक्तिलाई मिर्गाैलाको समस्या हुने जोखिम रहन्छ । त्यसैले डाक्टरको सल्लाहअनुसार नियमित औषधि सेवन गर्नुपर्छ ।
- उच्च रक्तचाप मिर्गौला फेल हुनुको अर्को कारण हो । त्यसैले रक्तचापलाई नियन्त्रणमा राख्नुपर्छ ।
- धूम्रपानको आदत भएका, दुखाइ कम गर्ने औषधि लामो समयसम्म सेवन गर्ने गरेका मानिसमा पनि मिर्गौलामा समस्या देखिन सक्छ । अधिकांशमा ५० वर्ष कटेपछि यस्तो समस्या देखिने गरेको पाइन्छ । त्यसैले वर्षमा एकपटक अनिवार्य रूपमा मिर्गाैला परीक्षण गर्नुपर्छ ।
- अधिकांशलाई जोर्नी दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने समस्या भइरहेको हुन्छ । त्यस्ता व्यक्तिले दुखाइ कम गर्ने औषधि सेवन गरेका हुन्छन् । कतिपयले डाक्टरलाई नजँचाई यस्ता औषधि सेवन गर्छन् । तर, दुखाइ कम गर्ने औषधि जथभावी सेवन गर्नुहुँदैन । यसले मिर्गौलामा समस्या निम्त्याउन सक्छ ।
- मिर्गाैला फेल भइसकेपछि उपचार महँगो भएकाले समयमै परीक्षण गरेर निदान तथा उपचार गर्नु बुद्धिमानी हुन्छ । परीक्षणमध्ये पिसाबमा प्रोटिनको जाँच, रगतमा क्रियाटिनिनको स्तर र अल्ट्रासोनोग्राफी एसजीमार्फत मिर्गाैलाको अवस्था बुझ्नुपर्छ ।
- बिहान वा बेलुका कम्तीमा ३० देखि ४५ मिनेट हिँडडुल गर्नु आवश्यक छ । साथै, खानामा नुनको मात्रा कम गर्नुपर्छ र शरीरको तौल नियन्त्रणमा राख्नुपर्छ । शरीरमा बोसोको मात्रा घटाउनुपर्छ ।
- विशेषगरी, वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएका व्यक्ति यसको जोखिममा परेका छन् । पछिल्लो समय उनीहरू मिर्गौला बिग्रिएकै कारण दैनिक रूपमा नेपाल फर्किरहेका छन् । खाडीको चर्को तापक्रममा काम गर्नु, आरामको कमी हुनु, इनर्जी ड्रिंक्सको बढ्दो प्रयोग, पानी नपिउने बानी र अत्यधिक मात्रामा पेनकिलरको सेवनलगायत कारण यी युवामा मिर्गौलाको समस्या देखिने गरेको छ ।
- मिर्गौलामा समस्या देखिँदा कहिलेकाहीँ पिसाबको रङ परिवर्तन हुन्छ । जस्तो पिसाब रातो, अति नै सेतो देखिने हुन्छ । यस्तो वेला जथाभावी औषधि खानुहुँदैन । पानी कम भयो होला भनेर बस्नुहुँदैन । तुरुन्तै डाक्टरको सम्पर्कमा जानुपर्छ ।
- मिर्गाैला फेल भइसकेपछि प्रत्यारोपण गर्नु नै एक मात्रै विकल्प हो । अन्य उपचार छैन । प्रत्यारोपणका लागि मिर्गाैलादाता आफ्नो नजिककै नाताबाट हुनुपर्छ, जुन सहज होइन । नेपालमा मिर्गाैला प्रत्यारोपणमा ठूलो खर्च पनि लाग्छ । प्रत्यारोपणमार्फत पूर्ण रूपमा उपचार हुने भए पनि मिर्गौला बिग्रन नदिनका लागि सचेत रहनु नै बुद्धिमतापूर्ण छ ।