जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्चबाट पललाई सफाइ

नाबालिग करणी अभियोगमा एक वर्षअघि १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका पल आज १५ फागुनमै रिहा हुँदै

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

नाबालिगमाथि बलात्कार अभियोग लागेको एक वर्षपछि कलाकार पूर्णविक्रम शाह अर्थात् पल शाहले सफाइ पाएका छन् । आफूविरुद्ध जाहेरी परेपछि १५ फागुन ०७८ मा जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका शाह त्यसको ठीक एक वर्षपछि जिल्ला कारागार तनहुँबाट सोमबार रिहा हुँदै छन् ।

पीडित एकै भए पनि फरक–फरक मितिमा फरक–फरक जिल्लामा बलात्कार गरेको अभियोगमा शाहमाथि तनहुँ र नवलपुर दुवै जिल्लामा मुद्दा परेको थियो । तनहुँ जिल्ला अदालतले गत ३ माघमै अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिए पनि नवलपुर अदालतको फैसलाका कारण पल कारागारबाट छुट्न सकेका थिएनन् ।

२१ भदौमा नवलपुर अदालतले शाहविरुद्ध नाबालिग जबर्जस्ती करणीको मुद्दा परे पनि बाल यौन दुरुपयोगमा मात्रै कसुरदार ठहर गरेको थियो । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई बलात्कारमा दाबी नपुगे पनि बाल यौन दुरुपयोग गरेको पाइएको भन्दै साढे दुई वर्षको कैद सजाय, २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति सुनाएको थियो । 

बलात्कारमा सफाइ दिए पनि अदालतले मिसिल–प्रमाणमा हुँदै नभएको बाल यौन दुरुपयोगको दाबी गरेको भन्दै पूर्ण सफाइको माग गर्दै शाहले जिल्लाको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । शाहसँगै जिल्ला सरकारी वकिलको कार्यालयले समेत जिल्लाको फैसलाविरुद्ध पुनरावेदन गरेको थियो । अभियोग पत्रअनुसार अधिकतम १४ वर्षको जेल सजाय हुनुपर्ने सरकारी वकिलको पुनरावेदनमा दाबी थियो ।

दुवैको पुनरावेदनउपर भएको सुनुवाइमा उच्च अदालत पोखराले नवलपुर अदालतको फैसला उल्ट्याउँदै शाहलाई सफाइ दिएको हो । उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोगको दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिने फैसला गरेको अदालतका उपरजिस्ट्रार एवं सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए । 

यसअघि २३ माघमा उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश आचार्य र न्यायाधीश ऋषिराज राजभण्डारीको संयुक्त इजलासले शाहको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश दिएको थियो । नवलपुर जिल्लाको फैसलामा वादी र प्रतिवादी दुवै पक्षबाट परेको पुनरावेदनपछि उच्च अदालतले प्रत्यर्थीहरू झिकाउने आदेश दिएको हो ।

उपरजिस्ट्रार आचार्यका अनुसार मुद्दाको विषयमा दुवै पक्षबाट पुनरावेदन परेपछि दुवै पक्षबीच छलफल भएसँगै एकको कुरा अर्कालाई सुनाउनका लागि प्रत्यर्थी झिकाउने गरी अदालतले आदेश दिएको थियो । प्रत्यर्थी झिकाएपछि मुद्दाको पेसी चढेको हो । 

कलाकार शाहविरुद्ध ११ फागुन ०७८ मा एक १७ वर्षीया नाबालिग गायिकामाथि पटक–पटक जबर्जस्ती करणी गरेको आरोपमा सबैभन्दा पहिले जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसपछि पीडितका बुबाले शाहविरुद्ध नवलपुर अदालतमा पनि जाहेरी दिएका थिए । त्यहाँ पनि शाहले करणी गरेको आरोप थियो । जाहेरी परेपछि फरार भएका शाह चार दिनपछि तनहुँ प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए । 

त्यसको एक सातापछि नवलपुर प्रहरीको क्षेत्राधिकारभित्र पर्ने इलाका प्रहरी कार्यलय गैँडाकोटमा सुटिङको बहानामा नाबालिगमाथि शाहले जबर्जस्ती करणीको आरोपमा जाहेरी दर्ता भएको थियो । जाहेरीमा पीडितले आफूमाथि शाहले ७ चैत ०७७ मा गैँडाकोट रिसोर्टमा पटक–पटक जबर्जस्ती करणी गरेको आरोप छ । जाहेरीका क्रममा एक दिनका लागि गीत सुटिङ भनेर लगेको, तर पाँच दिनसम्म लम्ब्याएर करणी गरेको आरोप पीडितले लगाएकी थिइन् ।

जाहेरीमा ३१ चैत ०७७ मा बाग्लुङको गलकोट महोत्सव जाने–आउने क्रममा ती नाबालिगमाथि गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा शाहले संवेदनशील अंग चलाउने, जिस्क्याउने, समात्नेजस्ता कार्य गरेकोसमेत आरोप थियो । पल स्वयंले पनि अदालतमा बयान दिने क्रममा गैँडाकोट रिसोर्टमा बस्ने क्रममा आफूले मादक पदार्थ सेवन गरेको र पीडितको कोठामा गएको स्विकारेका थिए ।

‘०७७ चैत ८ गते अन्दाजी रातको साढे १० बजेको समयमा सुटिङ युनिटसहित गैँडाकोट रिसोर्टमा आई बसेको हो । म उक्त रिसोर्टको कोठा नम्बर १०१ मा बसेको थिएँ भने पीडित कोठा नम्बर १०२ मा बसेकी थिइन् । म र पीडित सुत्ने कोठा सँगसँगै भएको कारणले म रातको साढे ११ बजेतिर पीडितको कोठामा जाँदा हिजो उनलाई एक्लै सुत्दा डर लागेको र होटेल सञ्चालकको छोरीसँग सुतेको कुरा मैले थाहा पाएकाले तिमीलाई हिजोको जस्तो डर त लागेको छैन नि ? ल राम्रोसँग सुत भनी म आफ्नो कोठामा गई सुतेको हो,’ उनले बयानका क्रममा भनेका थिए । 

 अहिले रिहाको आधार के ? 
बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा कसुरदार ठहर गरेको नवलपुर अदालतको फैसला उल्लेखित आधारअनुसार नमिलेको ठहर गर्दै उच्च अदालतले शाहलाई सफाइ दिएको हो । पीडित पक्षले बयान बदले पनि नवलपुर अदालतले शाहकै बयानलाई बलियो आधार मानेर बाल यौन दुरुपयोगमा सजाय तोकेको थियो । तर, बलात्कार अभियोगमा पीडित र प्रतिवादी दुवै पक्षले इन्कारी बयान दिएको, जाहेरवाला पीडितको परिवारले समेत जाहेरी व्यहोरालाई अस्वीकार गरेर बकपत्र गरेको, सबै साक्षीले समेत अभियोग दाबीबमोजिम प्रतिवादीले जबर्जस्ती करणी गरेका होइनन् भनी बकपत्र गर्नुलाई पनि बलात्कारमा सफाइको आधार बनाएको थियो । 

अर्को बलियो आधार, जाहेरी दरखास्त पर्नुअघि १५ भदौ ०७८ मा पीडित र प्रतिवादीबीच भएको मोबाइल म्यासेज थियो । म्यासेजमा पीडितले शाहलाई ‘हामीलाई थाहा छ, हामीबीच त्यस्तो केही भएन, यसबीच तिमीलाई परेको दुःखका लागि माफी माग्न चाहन्छु...’ भन्ने व्यहोरा उल्लेख थियो । तर, यो म्यासेजलाई बलियो आधार मानेको अदालतले प्रतिवादीले शारीरिक सम्बन्ध पुष्टि हुने अडियो संवादलाई भने प्रमाणका रूपमा लिएन । पीडितलाई इंगित गर्दै प्रतिवादी शाहले ‘ऊ प्रेगनेन्ट भएको भए, बच्चा भएको भए... एकदम राम्रो सेफ तरिकाले यति अन्डरस्ट्याङडिङ हिसाबमा हुँदा पनि...’ आदि बोलेको अडियो संवादलाई प्रहरीले प्रमाणका रूपमा संकलन गरे पनि अदालतले त्यसलाई प्रमाण लिएन । कारण, अदालत पुग्दा पीडितले बयान बदल्दै अडियो नक्कली र म्युजिक भिडियो रिहर्सलका लागि भएको दाबी गरेकी थिइन् ।

See More On

सुझावित समाचार