एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्थिर चरित्रप्रति कटाक्ष गर्दै छिमेकीको दूधभातमा लोभिएर लामो समय सरकारमा टिक्न खोजेको आरोप लगाएका छन् ।
‘दूधभात कचौरामा दियो भने छिमेकीको बिरालो आफ्नै भइहाल्छ भन्ने । कसले कचौरामा कति दूधभात दिन्छ, त्यसअनुसार फुुत्रुक्क छिमेकीको घरतिर सर्ने प्रवृत्तिले सरकारको नेतृत्व गर्ने सिलसिला छ,’ आइतबार आयोजित एक कार्यक्रममा ओलीले भने ।
ओलीले पूर्वसहमतिविपरीत गठबन्धन भत्काएर प्रधानमन्त्री प्रचण्डले ठूलो धोका दिएको पनि बताए । ‘अस्तिको दिन छक्याउने भाषा गर्नुभयो । यद्यपि, मैले पुष्पकमल दाहालजीलाई नचिनेको होइन । मैले उहाँको कुरा सुनिरहेँ । उहाँले मलाई छक्याइरहनुभो । उहाँ हातमा चक्कु लिएर बस्नुभएको थियो । तर, मलाई भन्नुभो– फूल लिएको छु, तपाईंलाई भ्रम नपरोस् । यो चक्कुजस्तो देख्नुभो होला, फूल हो भन्नुभो,’ ओलीले भने, ‘तपाईंले भनेपछि फूलै हो नि भन्दै बसेँ म । तर, मेरो आँखाले धोका खाएको थिएन, उहाँ ढाँट्न, छक्याउन, धोका दिन अप्ठ्यारो मान्नुहुन्न ।’
ओलीले घाइते, बेपत्ता र सहिदहरूलाई धोका दिने व्यक्तिले गठबन्धन तोडेर आफूलाई धोका दिनु कुनै अनौठो घटना नभएको पनि बताए । ‘जनतालाई, सहयोद्धाहरूलाई, आफूलाई त्यस ठाउँमा पुर्याउने योद्धाहरूलाई, सहिदहरूलाई धोका दिनुभयो भने मलाई धोका दिन कुन ठूलो कुरा भयो र ?’ उनको भनाइ थियो ।
यसबीचमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेको देश, जनता र लोकतन्त्रको हितमा काम गर्ने सरकार बनाइए पनि प्रचण्डको धोकाकै कारण आफ्नो प्रयास असफल भएकोसमेत ओलीको आरोप छ । ‘यसबीचमा एउटा प्रयास गरिएको थियो, देशमा लोकतान्त्रिक देशभक्ति, देशभक्त सरकार बनाऊँ, लोकतन्त्रका निम्ति काम गरौँ, स्वच्छताका साथ, पारदर्शिताका साथ काम गरौँ, जनताका समस्या समाधान गर्ने गरी अगाडि बढौँ, देशको समय मात्र बर्बाद नगरौँ, आफ्ना स्वार्थमा मात्र केन्द्रित हुने होइन, जनताका समस्या समाधान गर्ने गरी अघि बढौँ, यो प्रयास गरियो । तर, पुष्पकमल दाहालजीको बेग्लै छ, भाषा एउटा बोल्नुहुन्छ, काम अर्कै गर्नुहुन्छ । हेर्नु देब्रेपट्टि हुन्छ, निशाना दायाँपट्टि हुन्छ,’ ओलीले भने ।