चितवनमा कालो बेलुन उडाउँदै किसानको ‘मार्चपास’

शनिबार, १३ फागुन, २०७९
डिजिटल संस्करण
चितवनमा कालो बेलुन उडाउँदै किसानको ‘मार्चपास’

तस्बिर : सञ्जय ओझा, भरतपुर

 चितवनका किसानले कालो बेलुन उडाउँदै कृषि औजारसहितको प्रदर्शन गरेका छन् । उचित मूल्य नपाएपछि तरकारी राजमार्गमा फालेर २० माघमा विरोध प्रदर्शन गरेका किसान आन्दोलनको सुनुवाइ नभएको भन्दै पुनः विरोधमा उत्रिएका हुन् ।

आफ्ना मागहरू सम्बोधन गर्न दबाबका लागि दोस्रो चरणको आन्दोलनस्वरूप विभिन्न ठाउँबाट भरतपुरको केन्द्रीय बस टर्मिनलमा प्ले कार्डसहित भेला भएका किसान जिल्ला प्रशासन कार्यालय, बाइपास रोड, कृषि ज्ञानकेन्द्र, चौबिसकोठी हुँदै नारायणगढको पुलचोक पुगेका थिए । राजमार्गमा दर्जनौँ ट्याक्टरमा कृषि औजार र विरोधका प्रचार सामग्रीसहित किसानहरू मार्चपास गर्दै प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले आफ्ना माग लेखिएका ब्यानरसहित दुई सयभन्दा बढी कालो बेलुन पूर्व–पश्चिम राजमार्गको पुलचोकमा उडाएर विरोधसमेत गरेका थिए । 

यसअघि संघीय कृषिमन्त्रीदेखि जिल्ला प्रशासन, कृषि कार्यालय, प्रदेशसहित चितवनका सातवटै स्थानीय तहमा १० बुँदे ज्ञापनपत्र बुझाएका किसान सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै पुनः विरोधमा उत्रिनुपरेको संघर्ष समितिका संयोजक लेखनाथ भुसालले बताए ।

किसान संघर्ष समिति चितवनले विदेशी तरकारी आयातलाई निषेध गर्नुपर्ने मागसहित स्वदेशी तरकारी तथा कृषिजन्य उत्पादनलाई प्रोत्सान गर्नुपर्ने, किसानको वर्गीकरण गरी किसान कार्ड र पेन्सनको व्यवस्था गर्नुपर्ने, तरकारी तथा कृषिजन्य वस्तुहरूमा लागत मूल्य नउठेमा सरकारले अनुदान दिनुपर्ने, उत्पादन र क्षेत्रफलका आधारमा अनुदान दिनुपर्नेलगायत १० बुँदे माग गरेका छन् ।

सुझावित समाचार