प्रचण्डको युटर्नले दुई महिनामै सरकार गुमाउँदै एमाले

शनिबार, १३ फागुन, २०७९
डिजिटल संस्करण

एमालेसहितका सात दलको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनमा तीन नयाँ दलसमेत समेटेर चुनावअघिकै गठबन्धन ब्युँताएपछि एमालेले केन्द्र र प्रदेश दुवैतिरका सरकार गुमाउने सम्भावना निश्चितजस्तै बनेको छ ।

यद्यपि, शनिबार बस्ने सचिवालय बैठकबाट एमालेले तत्काल सरकार छाडेर प्रतिपक्षमा बस्ने वा केही दिन पर्ख र हेरको नीति अँगाल्ने भन्ने निर्णय लिँदै छ ।प्रचण्ड नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्मा एमालेका उपप्रधानमन्त्रीसहित आठ मन्त्री छन् । ११ पुसमा पाँच र ३ माघमा तीनजना नियुक्त भएका हुन् ।

त्यस्तै, भागबन्डामा प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एमालेले सरकारको नेतृत्व गरेको थियो । तर, सुदूरपश्चिममा विश्वासको मत लिन नसकेपछि ठूलो दलको हैसियतमा कांग्रेसले सरकार बनाएको छ । चार प्रदेशमा सरकारको नेतृत्व गरिरहेको एमालेले सबैतिर सरकार गुमाउनेछ । यद्यपि, माओवादीसहित आठ दलीय गठबन्धनमा रहेका दलले विश्वासको मत फिर्ता लिएपनि केही समयका लागि भए पनि प्रदेश १, मधेस प्रदेश र लुम्बिनीमा ठूलो दलको हैसियतमा एमालेकै सरकार बन्न सक्नेछ । तर, ३० तिस दिनभित्र विश्वासको मत लिनुपर्नेछ । 

राष्ट्रपतिको उम्मेदवारीबारे शनिबार निर्णय गर्ने 
एमालेले पछिल्लो घटनाक्रम र राष्ट्रपतिको उम्मेदवारीबारे निर्णय गर्न शनिबार बिहान केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ९ बजे बस्ने बैठकले पछिल्लो घटनाक्रम र राष्ट्रपतिको उम्मेदवारीबारे निर्णय गरिने उपमहासचिव ज्ञवालीले बताए ।

एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रस्ताव गरेका थिए । तर, राष्ट्रिय सहमति हुनुपर्ने अडान राख्दै आएका प्रधानमन्त्री प्रचण्डले आठदलीय गठबन्धनबाट कांग्रेसलाई राष्ट्रपति दिने सहमति गराएपछि ओलीको प्रयास असफल भएको छ । 

एमालेले आधिकारिक निर्णय गरेरै राष्ट्रपतिमा प्रस्ताव गर्न लागेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि आठदलीय गठबन्धनकै एक घटक बनेका छन् । यद्यपि, शुक्रबार साँझ बालुवाटारमा सहमति हुनुअघि नेपाललाई भेटेर ओलीले उम्मेदवारका रूपमा अडिग आग्रह गरेका थिए । बालुवाटारमा प्रचण्डसँग करिब दुई घन्टा भेटघाट गरेपछि समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान) निवास महाराजगन्जमा आधा घन्टा भएको भेटवार्तामा वाम नेतृत्वको गठबन्धन जोगाएर अघि बढ्न ओलीले नेपाललाई आग्रह गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्ड पछि नफर्किने गरी कांग्रेस नेतृत्वको पुरानो गठबन्धन ब्युँताउने गरी अघि बढिसकेको र उम्मेदवारी जोखिम हुने भन्दै सम्भव नभएको जवाफ नेपालले दिएका थिए ।

प्रचण्डसँगको पछिल्लो भेटमा ओलीले प्रधानमन्त्री बनाउन खेलेको भूमिका बिर्सिएर धोका दिने कृतघ्न राजनीति गरेको भन्दै गम्भीर दुष्परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । ‘प्रधानमन्त्री बन्ने मनोकांक्षा पूरा गर्न एमालेलाई आफैँले राष्ट्रपति पूरा गर्नुभो, तर दुई दिन नबित्दै अर्को बाटोतिर सक्रिय हुनुभो, तपाईं न्यूनतम इमानदारिता र नैतिकता नभएको कृतघ्न हुनुहुँदोरहेछ,’ प्रचण्डलाई ओलीको चेतावनी उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘यसले मुलुकलाई अनन्तकालसम्म अस्थिरतातर्फ त धकेलेको छ, तर कहीँ न कहीँ यसको समीक्षा कुनै दिन होला भनेर बुझ्दा हुन्छ ।’

एमालेबाट राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, युवराज ज्ञवाली, उपमहासचिव विष्णु रिमाललगायत नेता चर्चामा छन् । तर, कांग्रेस नेतृत्वमा पुरानै गठबन्धन ब्युँतिएपछि एमालेले कसलाई उम्मेदवार बनाउँछ टुंगो छैन । उपमहासचिव ज्ञवालीले शनिबार बस्ने बैठकबाट मात्रै उम्मेदवारीलगायत आगामी कदमबारे पार्टीले विस्तृत छलफल गरेर निर्णय लिने बताए । ‘हामी घटनाक्रमबारे सचिवालय बैठकमा विस्तृतमा छलफल गरेर मात्र निर्णयमा पुग्छौँ,’ उनले भने ।

सुझावित समाचार