लमजुङको सुन्दरबजार नगरपालिका ४ दुराडाँडामा रहेको श्री संस्कृति सदन माविमा निःशुल्क मुटु रोग परीक्षण शिविर संचालन भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आयोजना तथा खनियाँ बन्धु समाज लमजुङ–काठमाडौं सम्पर्क समितिको पहलमा शिविर संचालन भएको हो ।
शिविरमा मुटुरोग विज्ञेषण डा. अमृत बोगटी र रिजु मानन्धरलगायतका विशेषज्ञ चिकित्सकहरूबाट निःशुल्क मुटु परीक्षण गरिएको थियो । चार सय ८० जनाको निःशुल्क इसिजी, इको, एफबिसी जाँच तथा निःशुल्क औषधि वितरण गरिएको स्थानीय आयोजक खनियाँ बन्धु समाज लमजुङले जनाएको छ ।
शिविरमा सुन्दरबजार नगरपालिका– ४ का वडाध्यक्ष कृष्णप्रसाद अधिकारी, संस्कृति सदन माविका प्रअ शिवशंकर तिवारी, स्वास्थ कार्यालय दुराडाँडाका प्रतिनिधी वीरेन्द्र खड्का, काठमाडौं–लमजुङ सम्पर्क समितिका कोषाध्यक्ष हरिशचन्द्र खनियाँ, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशकलगायतले शिविरका सम्बन्धमा धारणा राखेका थिए ।
खनिया बन्धु समाजका अध्यक्ष कमलराज खनिया, सुन्दरबजार नगरपालिका ३ का अध्यक्ष अमृत नेउपाने, कार्यक्रम संयोजक मदनराज खनियाले धन्यवाद ज्ञापन गरेका थिए । त्यसक्रममा चन्द्रमणि अधिकारलाई समाजका अध्यक्ष खनियाले प्रशंसापत्र प्रदान गरेका थिए ।
शिविरमा संस्थाका सदस्य निर्मल खनिया र रबिन खनिया, स्थानीय स्वास्थ्यचौकी, वडा नम्बर ४ कार्यालय र इलाका प्रहरी कार्यालयले सहयोग गरेको थियो । शिविर संचालनका लागि काठमाडौं र संसारका विभिन्न देशमा बस्ने खनियाँ बन्धुहरूले आर्थिक सहयोग गरेका थिए ।













