संस्कृति बोध गराउन स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजित

शुक्रबार, १२ फागुन, २०७९
डिजिटल संस्करण

हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–०७९ सम्पन्न भएको छ । 

नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ । कार्यक्रम काठमाडौंको टुँडीखेलमा कार्यक्रम आयोजना भएको थियो । 

बहुवैकल्पिक उत्तरसहित ५० वटा प्रश्न सोधिएको परीक्षामा भक्तपुर, ललितपुर र काठमाडौंका विद्यालयहरूबाट पाँच हजार विद्यार्थी सहभागी रहेका थिए । 

तीमध्ये ६७ जनाले सबै प्रश्नको सही उत्तर मिलाएर शतप्रतिशत अंक प्राप्त गरे । सही उत्तर दिनेमध्येबाट गोलाप्रथाका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना विजेता छनोट गरिएको जानकारी दिइएको छ । 

काठमाडौंको श्री नेपाल वेद विद्याश्रम विद्यालयमा कक्षा १० मा अध्यनरत विजय तिमल्सिना प्रथम भएका छन् । उनले प्रमाणपत्रसहित ५१ हजार एक सय एघार रुपैयाँ नगद पुरस्कार पाए । 

काठमाडौंकै ब्राइट होराइजन विद्यालयमा कक्षा ८ मा अध्ययनरत दालकु शेर्पाले दोस्रो स्थान हात पारिन् । भक्तपुरको विद्यार्थी निकेतन माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत सुस्मिता चौलागाइँ तेस्रो बन्न सफल भइन्  । 

द्वितीय र तृतीयले क्रमशः २५ हजार एक सय एघार र १५ हजार एक सय एघार रुपैयाँ नगद पुरस्कार एवं प्रमाण पाए । 

सान्त्वनाअन्तर्गत ५० जनालाई प्रमाणपत्रसहित प्रति व्यक्ति एक हजार एक सय एघार नगद पुरस्कार एवं प्रमाणपत्रको व्यवस्था गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा प्रमुख अतिथि रहेका थिए भने स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रकी निर्देशिका आशावरी उदय बापट एवं वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षित विशिष्ट अतिथि थिए ।

संघले ०७१ बाट निरन्तर रूपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना गर्दैआएको छ । कोभिड महामारीका कारण दुई वर्ष अवरुद्ध भएको यो कार्यक्रमलाई संघले पुनः निरन्तरता दिएको हो ।

सुझावित समाचार