बेलडाँडीदेखि निकुञ्ज प्रवेशको रुट बन्दै

गाउँपालिकाद्वारा चौधर नदीमा काठेपुल निर्माण

बिहिबार, ११ फागुन, २०७९
डिजिटल संस्करण

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि रुट निर्माण भइरहेको छ । संघीय सरकारको निर्णयअनुरूप बेलडाँडी गाउँपालिकाले निकुञ्ज प्रवेशका लागि रुट निर्माण गरिरहेको छ ।

बेलडाँडी गाउँपालिकाका प्रमुख हरिशचन्द्र रानाले निकुञ्ज प्रवेशका लागि ट्रयाक खोल्ने र चौधर नदीमा पुल निर्माण कार्य गरिएको बताए । उनले बेलडाँडी गाउँपालिका– ५ इमलिया चौधर नदीमा काठको पुल निर्माण गरिएको र हालसम्म झन्डै डेढ किलोमिटर ट्रयाक खोलिएको बताए । ‘हामीले २२ मिटरको काठे पुल निर्माण गरिसकेका छौँ,’ उनले भने, ‘सँगसँगै ट्रयाक खोल्ने, नालामा ह्युमपाइप बिछ्याउने काम अघि बढाएका छौँ ।’

अहिले काठेपुल निर्माणसँगै चौधर नदीमा पुक्की पुलको समेत ठेक्का परेकाले स्थायी रूपमा पक्की पुलबाटै आवतजावत गरिनेछ । ‘यहाँ पक्की पुलको समेत ठेक्का भएको छ,’ गाउँपालिका प्रमुख रानाले भने, ‘पक्की पुल निर्माण नहुँदासम्म अस्थायी रूपमा हामीले काठकै पुल निर्माण गरेर निुकञ्ज प्रवेशका लागि रुट बनाएका छौँ ।’

निकुञ्ज अवलोकनका लागि हाल भीमदत्त नगरपालिका– १६ मझगाउँबाट मात्रै रुट रहेको र अहिले बेलडाँडीदेखि समेत रुट निर्माण भइरहेको छ । यसअघि ०७५ साल माघ पहिलो साता वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वखानेपानीमन्त्री एवं तत्कालीन क्षेत्र १ की सांसद विना मगरले बेलडाँडीदेखि निकुञ्ज प्रवेश रुटको शिलान्यास गरेका थिए । 

स्थानीयको मागअनुरूप निकुञ्ज विभागले बेलडाँडी भएर रुट सञ्चालनका लागि अनुमति दिएको थियो । बेलडाँडीदेखि रुट निर्माण भएर प्रशासनिक रूपमा निकुञ्ज प्रवेशका लागि कामकाज अघि बढेसँगै दक्षिणी क्षेत्र मात्र नभई भारतीयदेखि अन्य क्षेत्रका पर्यटकलाई थप सहज हुनेछ । धनगढी विमानस्थलबाट दक्षिणी हुलाकी राजमार्ग भएर झन्डै ६५ किलोमिटर दूरीमा रहेको बेलडाँडीदेखि निकुञ्ज छोटो दूरीमा रहेको हुँदा दक्षिणी प्रवेशद्वारबाट समेत पर्यटकको आवतजावत हुनेछ । बेलडाँडीदेखि निकुञ्ज प्रवेशका लागि रुट सञ्चालनमा आएसँगै यस क्षेत्रको पर्यापर्यटनमा समेत प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

सुझावित समाचार