युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री

बिहिबार, ११ फागुन, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन्।

बिहीबार बिहान काठमाडौंको टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्। 

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘तपाईंहरूमाथि तपाईंका अभिभावकको मात्र आशा र सपना निहित नरही प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईंहरूले आफ्नो मनोबल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सबल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ।’

उनले देशलाई ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ युक्तिलाई आत्मसात् गर्दै चन्द्र र सूर्यअंकित झन्डाप्रति सदैव अनुशासित भई देश र जनताको सेवा गर्ने युवाहरूको खाँचो रहेको बताए। 

सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउन मद्दत गर्ने बताउँदै उनले नैतिकवान्, क्षमतावान् र देशभक्त युवाहरू तयार गरी राष्ट्रको आवश्यकता सम्बोधन गर्ने उद्देश्यसहित राष्ट्रिय सेवा दल स्थापना भएको बताए। 

उनले भने, ‘राष्ट्रलाई आवश्यक परेको वेलामा तपाईंहरू निःस्वार्थ सेवाभावबाट समर्पित भई एक सच्चा नेपाली नागरिकका रूपमा महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुनेछ र यस तालिमको दौरानमा हासिल गरेका ज्ञानले तपाईंहरूलाई लक्ष्य प्राप्तिका लागि अभिप्रेरित गर्ने विश्वास लिएको छु।’ 
 

सुझावित समाचार