३ प्रश्न

बिहिबार, ११ फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रपतिमा माधव नेपालको चर्चा स्वाभाविक हो कि सार्वजनिक खपतको विषय मात्र हो ? 
राजनीतिमा अनेक चालबाजी हुन्छन् । चेसको गोटी चालेजस्तो कहिले कता कहिले कता, कहिले कसको साथ त कहिले कसको साथ लिने खेल चलिरहेकै हुन्छ । यतिखेर हाम्रो राष्ट्रपति पद संवैधानिक रहेन, कार्यकारी हैसियतमै देखिन थाल्यो । वर्तमान राष्ट्रपतिको वेलाबखतको अतिरिक्त सक्रियताले पनि यसलाई पुष्टि गरेको छ । यसले गर्दा यतिखेर सबै दल र सबै नेताको यस पदप्रति आसक्ति देखिएको हो । राष्ट्रपतिमा माधव नेपालको चर्चा पनि यही पेरिफेरीमा आएको हो । कांग्रेसलाई कुनै पनि हालतमा रोक्ने केपी ओलीको रणनीति र केपी ओलीको ‘एस म्यान’लाई राष्ट्रपति बन्न रोक्ने ओलीइतरको रणनीतिस्वरूप यो प्रस्ताव अगाडि आएको हो ।

राष्ट्रपति निर्वाचनले नयाँ गठबन्धन बन्ने र अहिलेको  गठबन्धन भत्कने सम्भावना कति देख्नुहुन्छ ?
त्यस्तो सम्भावना निकै टड्कारो हुँदै गएको छ । एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच बढ्दै गएको अविश्वास र आशंकाको ‘ग्राफ’ हेर्दा राष्ट्रपति निर्वाचनपछि जुनसुकै दलबाट जोसुकै राष्ट्रपति बने पनि अहिलेकै गठबन्धन यथावत् कायम रहला जस्तो देखिँदैन । आगामी २५ फागुनपछि नयाँ गठबन्धन बन्न सक्ने सम्भावना अत्यधिक देखिँदै छ । 

राष्ट्रपति निर्वाचनले नेकपाकालीन परिदृश्य निर्माण गर्न सक्ने सम्भावना छ कि छैन ?
उत्तरी छिमेकीबाट लगातार त्यस्तो प्रयास भइरहेको पनि देखिन्छ । तर, नेपालको सक्रिय राजनीतिमा केपी ओलीको उपस्थिति रहुन्जेल त्यस्तो सम्भावना देखिन्न । 

सुझावित समाचार