राष्ट्रपतिको प्रस्ताव आएको छैन : एकीकृत समाजवादी

बैठकमा राष्ट्रपतिको प्रस्ताव आएको ‘रिपोर्टिङ’ भएन : झलनाथ खनाल

बुधबार, १० फागुन, २०७९
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताएका छन्। 

पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन्। उनले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराएको बताए। 

उनले राष्ट्रपति निर्वाचन देशका लागि महत्वपूर्ण एजेन्डा भएको उल्लेख गर्दै आफ्नो पार्टीले पनि यसमा सरोकार राख्ने बताए।

उनले भने, ‘हामीले भर्खरै सचिवालय बैठक सम्पन्न गरेका छौँ । अध्यक्षले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराउनुभयो । तर, राष्ट्रपतिको प्रस्ताव हाम्रो पार्टीलाई आएको भन्नेबारेमा रिपोर्टिङ भएन । त्यसैले हाम्रो पार्टीलाई राष्ट्रपति प्रस्ताव आएको भन्ने बाहिरको हल्ला हल्ला मात्रै रहेछ। राष्ट्रपति निर्वाचन अहिलेको सन्दर्भमा देशका लागि महत्वपूर्ण एजेन्डा हो, यसमा सरोकार हाम्रो पार्टीले राख्छ । हामी सबैले यसबारेमा कुरा गर्छौँ।’

त्यस्तै, पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले निकालेको वक्तव्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए। 

उनले प्रतिगामी हर्कत बढिरहेको सन्दर्भलाई मध्यनजर गरी देशका सबै अग्रगमन पक्षधर राजनीतिक दलहरूसँग छलफल अघि बढाउन बैठकमा निर्णय भएको बताए। उपमहासचिव खतिवडाले राष्ट्रपतिका लागि कुनै पनि पार्टीले आफ्नो पार्टीलाई प्रस्ताव नगरेको दाबी गरे। साथै उनले बैठकले राष्ट्रपतिकाे निर्वाचनका लागि सबैसँग छलफल गर्ने निर्णय भएकाे जानकारी गराए।   

सुझावित समाचार