कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थाहरूलाई कारबाही गर्न माग गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र बैंकले सुपरिवेक्षण गरेर तत्काल कारबाही गर्न माग गरेका हुन्।
थापाले लघुवित्तका कारण मर्कामा परेकालाई बैंक तथा वित्तीय संस्थाहरूको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन आवश्यक रहेको बताए।
उनले लघुवित्तका कारण कैयौँ गरिब जनता माथि उठ्न नसक्ने गरी थला परेको टिप्पणी गरे। लघुवित्त संस्थाहरूले नाफाका लागि जे पनि गर्ने, तत्कालको गर्जो टार्न जहाँबाट जतिसुकैमा पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने, तर सुपरिवेक्षणमा मुठ्ठी कस्ने राष्ट्र बैंकका कारण अहिले लघुवित्तमा समस्या देखिएको उनले बताए।
उनले अब एउटा ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने व्यवस्था गर्न र सुपरिवेक्षण कार्यलाई तल्लो तहसम्म लैजानसमेत माग गरे।