ट्याक्सीचालकलाई युएई र कतार जान रोक

बुधबार, १० फागुन, २०७९
डिजिटल संस्करण

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेट्स (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सीचालक पदका लागि जान रोक लगाएको छ। विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो। 

युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो। 

पछिल्लो समय मोटरसाइकल र ट्याक्सीचालक पदमा त्यहाँ जाने श्रमिकले स्वीकृति मागपत्रबमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए । 

उनका अनुसार सहज रूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नुपरेको अवस्था रहेको र अधिकांश श्रमिक धेरैपटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवाना बुझाउनुपरेको गुनासो आएकाले सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटना बढेसँगै विभागले उक्त निर्णय लिएको हो।

युएई र कतारमा मोटरसाइकल र ट्याक्सीचालक पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि विभागले पूर्वस्वीकृति रोक्ने निर्णय लिएको हो। विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा छ। 

उक्त पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र युएईस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरिएको विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ।

सुझावित समाचार