कालोबजारीमा तेब्बर मूल्यमा पाइने मल सरकारले दिन सक्दैन

बुधबार, १० फागुन, २०७९
डिजिटल संस्करण
कालोबजारीमा तेब्बर मूल्यमा पाइने मल सरकारले दिन सक्दैन

तरकारी बढी उत्पादन हुने वडामध्येको एक वडामा सोमबार देखिएको लाईन । सहकारीले सेयर सदस्यलाई १० केजी र सेयर सदस्य नभएकालाई ५ केजिको दरले बाँढेको थियो

उचित मूल्य नपाएपछि राजमार्गमा तरकारी फालेर विरोध प्रदर्शन गरेका चितवनका किसानलाई अहिले मलको चिन्ताले पिरोल्न थालेको छ । पश्चिम चितवनको भरतपुर– १८, २०, २३, २४, २५, २६ र २७ वडामा व्यावसायिक तरकारी खेती गर्दै आएका किसानहरू खेती लगाउने सिजनमा मल नपाएपछि थप निराश भएका छन् ।  

सोमबार केरुंगा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था भरतपुर २४, नयाँबस्तीमा मलको लाइनमा भेटिएका अर्जुन भुजेलको सात कट्ठा जमिनमा उत्पादन भएको बन्दा नबिकेर बारीमै सुक्दै छ । लहरे तरकारी खेतीका लागि अहिले उनलाई चार बोरा मल आवश्यक छ, तर मलको आसमा सोमबार बिहानभरि लाइन बसेका उनलाई सहकारीले १० केजी मल मात्र दियो । ‘डेढ बिघा खेतमा १० केजी मल कहाँ हाल्ने ?’ ६० वर्षीय उनले राज्यसँग दुखेसो पोख्दै भने, ‘जीवनभरि कृषिबाहेक केही काम गरिएन । आम्दानीको स्रोत नै कृषि हो । बुढेसकालमा राज्यले मल र बिउ समयमा नदिएर किन दुःख दिएको हो ?’

सात बिघा जमिनमा तरकारी खेती गर्दै आएका व्यावसायिक किसान नारायणप्रसाद रेग्मीले किसानलाई प्रोत्सान गर्छु भनेर चुनाव जित्ने नेताहरूले बेवास्ता गरेको बताए । विगतका वर्षहरूमा कुनै पनि सरकारले किसानको समस्या सुल्झाउन सकेनन् । ‘यद्यपि, ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दलहरूले आफ्नो घोषणापत्र र प्रतिबद्धतामा मललाई प्राथमिकतामा राखे, तर हाम्रो दुःख उस्तै छ,’ उनले भने । 

 बोडी, करेला, काँक्रो, खुर्सानी, चिचिन्डा, घिरौँला, करेला, लौकालगायतका लहरे तरकारी बारी गोडमेल गरेर रासायनिक मल युरिया हाल्ने समय हो । तर, पछिल्लो पाँच वर्षदेखि चितवनका किसानले यस्तै सास्ती भोग्दै आएका छन् । मल अभावकै कारण उत्पादनसमेत घट्दो क्रममा छ ।

किसानले सहकारीबाट मल नपाए पनि कालोबजारीमा भने प्रशस्त मल पाउँछन् । प्रतिबोरा नौ सय ५० पर्ने युरिया कालोबजारीमा तीन हजारभन्दा बढी र २४ सय ५० मा पाइने डिएपी पाँच हजारमा सहजै पाउने किसान होमबहादुर तमाङले बताए । उनले भने, ‘ओखलढुंगाबाट चितवनमा खेती राम्रो हुन्छ भनेर झरेँ, तर कृषिका लागि मल र बिउजस्ता आधारभूत चिजहरू पैसा हाल्न तयार हुँदा पनि कलोबजारीमा पाउँदा राज्यले दिन सकेको छैन ।’  

नेपालको उत्पादन लागत मूल्य महँगो छ । लेबर खर्च, ट्याक्टर, सिँचाइ उठाउनसमेत मुस्किल भएको समयमा मलसमेत तेब्बर मूल्यमा किन्नुपरेपछि कृषिकै विकल्प खोज्ने समय आएको युवा किसान सुमन सुवेदीले बताए । 

See More On

सुझावित समाचार