अंग्रेजी भाषाका शिक्षकहरूको पेसागत संगठन (नेल्टा) को २७औँ तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा सम्पन्न भएको छ ।
ललितपुरको जावलाखेलस्थित डिएभी सुशील केडिया विश्व भारती स्कुलमा सञ्चालन भएको यस सम्मेलनमा नेपालका ५८ जिल्ला र विश्वका २२ वटा देशबाट शिक्षक, शिक्षिका, प्रोफेसर र कूटनीतिज्ञहरूको सहभागिता रहेको थियो ।
कोभिड १९ को महामारीका कारण विगत तीन वर्षपछि भौतिक रूपमा आयोजित भएको यस सम्मेलनलाई ललितपुरका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका थिए ।
नेपालबाहेक अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड, पाकिस्तान, दक्षिण कोरिया, बंगलादेश, साउदी अरब, संयुक्त अरब इमिरेट्स, भारत, क्यानडा, किर्गिस्तान, उज्वेकिस्तान लगायत २२ देशबाट ८ सय भन्दा बढीको सहभागिता रहेको थियो ।
यो वर्षको सम्मेलनको मुख्य थिम ‘रिइमेजिङ ल्याङ्वेज पेडागोजी: वेलबिइङ एन्ड इनोभेसन प्रस्पेक्टिभ’ रहेको थियो ।
नेपाललगायत विभिन्न देशका प्रोफेसर, शिक्षक, शिक्षिक र शिक्षासँग सम्बन्धित व्यक्तिहरूले शिक्षण पद्धति, सिकाइका अभ्यास, खोज, अनुसन्धानबारे प्रस्तुति दिएका थिए । यससँगै विभिन्न वर्कसप, इभेन्ट्स, अन्तर्क्रिया तथा छलफल कार्यक्रम सञ्चालन भएको थियो ।
यस सम्मेलनमा एक सय ७० वटा अंग्रेजी विषयमा गरिएका अध्ययन, अनुसन्धान तथा खोजलाई समावेश गरिएको थियो । यस्तै, विश्वका उत्कृष्ट विश्वविद्यालयका प्राध्यापक, डाक्टर एवं विषय विज्ञले तीनवटा सामूहिक छलफल सत्र चलाएका थिए ।
नेपाल तथा विदेशी विश्वविद्यालयका प्राध्यापकहरूले ६ वटा प्लेनरी छलफल गरिएको थियो ।
‘अंग्रेजी साहित्यलाई प्रस्फुटन, प्रस्तुति दिँदै साहित्यिक उत्प्रेरणा प्रदान गरिएको थियो । शिक्षण विधि, पद्धति, अध्ययन, अनुसन्धान र खोजका विषयमा प्रस्तुति दिइयो,’ नेल्टाका पूर्वअध्यक्ष डाक्टर चन्डिका भट्टले बताए ।
यस्तै, काठमाडौं विश्वविद्यालयका प्रोफेसर डाक्टर लक्ष्मण ज्ञवालीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरू र विभिन्न संस्थामा कार्यरत शिक्षक, भाषाविद् तथा अभियन्ताहरूले विभिन्न विषयमा प्रस्तुत गरेका कार्यपत्र प्रभावकारी भएको बताए ।
नेल्टा महोत्तरीका अध्यक्ष ज्ञानेन्द्र यादवले यस सम्मेलनबाट शिक्षक, अनुसन्धानकर्ता र प्रशिक्षकहरूलाई फलदायी भएको बताए । यस वर्षदेखि उत्कृष्ट नेल्टाका ब्रान्चहरूलाई बेस्ट ब्रान्च अवार्ड प्रदान गर्न सुरु गरिएको छ ।
यस वर्ष झापा पहिलो, मकवानपुर दोस्रो र ललितपुरलाई तेस्रो उत्कृष्ट ब्रान्च घोषणा गरिएको छ । झापा नेल्टाले दुई लाख, मकवानपुर नेल्टाले ढेड लाख र ललितपुर नेल्टाले १ लाख रुपैयाँ प्राप्त गरेका छन् । उत्कृष्ट पप्रोजल बापत नेल्टाका ब्रान्चहरूले यो रकम प्राप्त गरेका हुन् ।

तीनदिने सम्मेलनमा अक्सफोर्ड, क्याम्ब्रिज, राउट्लेज विश्वविद्यालय, ब्रिटिस काउन्सिल र रेलो (अमेरिकन दूतावास) आदिको पुस्तक तथा प्रकाशनहरूको प्रदर्शनी पनि भएको थियो ।
अंग्रेजी शिक्षालाई समयानुकूल परिमार्जन गर्नका लागि यस सम्मेलनले नेपालका शिक्षकहरूलाई नयाँ कुरा, प्रविधि सिक्न प्रेरित गरेको नेल्टाकी केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवानले बताइन् ।
‘सम्मेलन अत्यन्त सफल भयो । अंग्रेजी शिक्षकहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका राम्रा अभ्यासबारे नयाँ कुरा सिक्ने मौका प्रदान गरेको छ,’ देवानले बताइन् ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरेको कार्यक्रममा नेपालका लागि अस्ट्रेलियन राजदूत, अमेरिकन राजदूतावासका उच्च अधिकारी, शिक्षा सचिव तथा अन्य सरोकारवालाहरू उपस्थित थिए ।