कवि हेमनाथ घिमिरेको एकल कवितावाचन कार्यक्रम गरिएको छ। अक्षर समूह चितवनको आयोजना र सप्तगण्डकी बिम्बयात्राको सहआयोजनामा सप्तगण्डकी क्याम्पस भरतपुरमा कार्यक्रम गरिएको हो।
कवितावाचन कार्यक्रमको सुरुवातमा घिमिरेले मंगलाचरण र आफ्नो परिचयलाई कविताकै स्वरूपमा प्रस्तुत गरे। त्यसपछि उनले छन्द र गद्यका कविताहरू सुनाए। पहिलो चरणमा उनले ६ वटा कविता प्रस्तुत गरे।
कार्यक्रममा कवि घिमिरेकी बुहारी सान्त्वना तिमिल्सिनाले एउटा कवितालाई आवाज भरिन्। घिमिरेको कवितासंग्रह ‘मेरा बीज अक्षरहरू’बाट ‘जीवनको दौड’ शीर्षकको कवितालाई तिमिल्सिनाले आवाज भरेकी थिइन्। त्यसपछि घिमिरे पुनः ६ वटा कविता लिएर मञ्चमा देखिए। घिमिरेले कार्यक्रममा विभिन्न भाव र शीर्षकका कविता प्रस्तुत गरे। कवितामा उनले बालाई सम्बोधन गरेका थिए। जीवन र जगतलाई कवितामा उतारेका थिए। जीवनको यात्रामा बाटो भुल्दा बाको याद झल्झली आउने र बाटो देखाउन बालाई अनुरोध गरिएको प्रसंगलाई कविले कवितामा उतारेका थिए।
कवि घिमिरे पेसाले इन्जिनियर हुन्। इन्जिनियर कविका कवितामा प्राविधिक कुराभन्दा पनि समाज र जीवन जगतका विषय समेटिएको अक्षर समूहका अध्यक्ष रमेश प्रभातले बताए। कार्यक्रमको अन्त्यमा कवि विदुर अधिकारीले घिमिरेले वाचन गरेका समग्र कविताको टिप्पणीसहितको कविता प्रस्तुत गरेका थिए।
कार्यक्रममा ईश्वर कँडेल, उदय अधिकारी, डा. एकनारायण पौड्याल, डा. धनेश्वर भट्टराई, विपिन पाठक, आकाश पौडेल, जगन्नाथ पण्डित, शान्ति शर्मा, रह शर्मालगायतको उपस्थिति थियो।