गठबन्धन जोगाउन प्रचण्डले अस्थिरता त्याग्नुपर्छ ः योगेश भट्टराई

मंगलबार, ९ फागुन, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले आफ्नो राजनीतिक अस्थिरता त्याग्नुपर्ने बताएका छन् । पार्टीले थालेको मिसन ग्रासरुट अभियानअन्तर्गत दैलेखमा प्रशिक्षण दिन आएका भट्टराईले यस्तो बताएका हुन् ।

जनयुद्धभन्दा अघिदेखि अहिलेसम्म पार्टी प्रमुख रहेर काम गर्दै आएका प्रचण्डले वेलावेलामा देखाएको राजनीतिक अस्थिरताले मुलुकमा समस्या आइरहेको उनको आरोप छ । उनले कुनै व्यक्तिको अस्थिर राजनीतिक चरित्रले मुलुक संकटमा पर्नुहुँदैन भन्ने मान्यता एमालेले राखेको बताए ।

एमालेले दिएको समर्थन र वर्तमान गठबन्धन जोगाउने या बचाउने भन्ने कुरा प्रचण्डकै हातमा रहेकाले प्रचण्डले पुनः अस्थिरता देखाए गठबन्धन भत्कने भट्टराईको चेतावनी छ ।

‘हामी प्रतिपक्षमा बस्न तयार थियौँ, कांग्रेसले उहाँलाई धोका दियो । हामी पुरानो गठबन्धन भत्काउने अभियानमा थियौँ, हामीले उहाँलाई प्रधानमन्त्री स्वीकार गर्याैँ,’ उनले भने, ‘उहाँले नै राष्ट्रपति एमालेलाई दिने, प्रधानमन्त्री र सभामुख आलोपालो गर्ने भन्नुभएको हो, हामी त्यही एजेन्डामा अडिग छौँ ।’

सचिव भट्टराईले माधव नेपाल राष्ट्रपति हुने विषयमा सहमत हुन सक्ने भए पनि कांग्रेसलाई दिन नसकिने प्रस्ट पारे । ‘हामी गठबन्धनबाहिर कांग्रेसको राष्ट्रपति हुने कुरामा विश्वास गर्दैनौँ, तर माधव नेपाल राष्ट्रपति हुने विषयमा हाम्रो सहमति हुन पनि सक्छ । हाम्रो एजेन्डा भनेको वर्तमान गठबन्धनभित्रबाटै राष्ट्रपति हुनुपर्दछ भन्ने हो,’ उनले भने ।

सुझावित समाचार