प्रधानमन्त्री प्रचण्डले शैक्षिक जनशक्ति पलायन देशका लागि चुनौतीपूर्ण रहेको बताएका छन् । पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति रहेका प्रचण्डले दिनप्रतिदिन शैक्षिक जनशक्ति पलायन हुने क्रम बढिरहेको बताए । विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्नुपर्ने भनाइ उनको छ ।
विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति राष्ट्रको उन्नयन र विकास लागि महत्वपूर्ण स्रोत रहेको भन्दै प्रचण्डले जोश, जाँगर, आत्मबल र इच्छाशक्ति भएका युवा जनशक्ति राष्ट्र निर्माणका अभिन्न अंग रहेको बताए । ज्ञानलाई मुलुकको आर्थिक, सामाजिक तथा अन्य क्षेत्रमा देखिएका चुनौतीलाई सामना गर्दै अवसरमा बदल्नुपर्ने वेला आएको भन्दै निशंकोच, इमानदारिता र कर्तव्यनिष्ठ भई आफूलाई उदाहरणीय व्यक्ति हुने गरी समाजमा प्रस्तुत गर्न उनले दीक्षित विद्यार्थीहरूलाई आग्रह गरे ।
समारोहमा विभिन्न तह उत्तीर्ण गरेका ६ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भए । दीक्षित विद्यार्थीमध्ये पिएचडीका एक, एमफिलका ३५, डिन लिस्टमा पर्न सफल पाँच सय ७२ सहित ६ हजार नौ सय ९९ विद्यार्थी छन् ।