प्रहरीले प्रभावकारी कमान्ड गर्न नसक्दा यातायात मजदुरको प्रदर्शन आगजनीमा बदलिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट गठित उच्चस्तरीय छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले प्रहरी वृत्त बालाजु र सोह्रखुट्टेका डिएसपीलाई कारबाहीको समेत सिफारिस गरेको छ ।
मजदुरले गरेको आन्दोलनका दिन प्रहरी वृत्त बालाजुको कमान्डर डिएसपी रविन विष्ट थिए । कमान्डमा खोट देखाउँदै उनलाई भोलिपल्टै उपत्यका प्रहरी कार्यालय तानिएको थियो । उनको ठाउँमा डिएसपी मनजित कुँवर पठाइएको छ । त्यस्तै, प्रहरी वृत्त सोह्रखुट्टेमा आन्दोलनका दिन डिएसपी गणेश बम थिए । उनलाई भने हालसम्म वृत्त प्रमुखबाट हटाइएको छैन ।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी हिमालय श्रेष्ठले कमजोर कमान्ड गरेको देखिएपछि दुई डिएसपीलाई कारबाही सिफारिस भएको बताए । ‘बालाजुमा भएको तोडफोड तथा आगजनीको विषयलाई अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको थियो । यसक्रममा समितिले आन्दोलनका दिन गरिएका कमान्ड र भएका ‘ल्याप्सेस’लाई अध्ययन ग¥यो । यसक्रममा वृत्त प्रमुखले प्रभावकारी कमान्ड गर्न नसकेको देखियो । उनीहरूलाई समितिले कारबाही गर्न सिफारिस गरेको छ,’ उनले भने ।
आगजनी तथा तोडफोडको विषयलाई लिएर उपत्यका प्रहरी कार्यालयले डिआइजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिमा कार्यालयका प्रवक्ता एसएसपी हिमालय श्रेष्ठसहित एसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजाल र कार्यालयका डिएसपी खुमलाल भुसाल थिए । पाँच दिनको छानबिनपछि समितिले शनिबार नै प्रतिवेदन कार्यालय प्रमुख एआइजी दिवेश लोहनीलाई बुझाएको थियो ।
‘घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन तयार भएको छ । शनिबार प्रतिवेदन कार्यालय प्रमुखलाई बुझाइसकेका छौँ । प्रतिवेदनमा प्रहरीको कमजोरी मात्र नभई आन्दोलन नियन्त्रण गर्ने क्रममा भएका राम्रा प्रयास पनि उल्लेख भएका छन् । आगामी दिन प्रहरीले सुधार गर्नुपर्ने पाटोसहित केही सुझाव पनि प्रतिवेदनमा समेटिएका छन्,’ श्रेष्ठले भने ।
गत १ फागुनमा भएको आन्दोलनका क्रममा आन्दोलनकारीले प्रहरीको बा.२झ १४४ नम्बरको स्कारपियो र बा.१झ ७२२४ नम्बरको माज्दा गाडी तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । उनीहरूले माछापोखरीस्थित प्रहरी बिटमा पनि ढुंगामुढा तथा आगजनी गरेका थिए ।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी हिमालय श्रेष्ठ भन्छन् –बालाजुमा भएको तोडफोड तथा आगजनीको विषयलाई अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको थियो । यसक्रममा समितिले आन्दोलनका दिन गरिएका कमान्ड र भएका ‘ल्याप्सेस’ लाई अध्ययन गर्यो । यसक्रममा वृत्त प्रमुखले प्रभावकारी कमान्ड गर्न नसकेको देखियो । उनीहरूलाई समितिले कारबाही गर्न सिफारिस गरेको छ ।
बिट तथा गाडीमा राखिएका मोटोरोला बेस सेट, फायर स्ट्रिंगुइजर, मेगा फोन, हाइटेरा बेस सेट, ब्याट्री जलेर पूर्ण रूपमा नष्ट भएका थिए । त्यस्तै, आन्दोलनकारीले ट्राफिक आइल्यान्डमा समेत तोडफोड तथा आगजनी गरेका थिए । आइल्यान्डमा राखिएका नेपाल टेलिकमको ट्रेलर मेसिन र कोरफाइबर केबल जलेर नष्ट गरिएका थिए । सोही दिन नयाँ बसपार्कस्थित ल्होत्से मलमा आन्दोलनकारी प्रवेश गरी आठ करोड रुपैयाँ मूल्यबराबरको मोबाइल लुटपाट गरेका थिए । प्रहरीबाट गठित छानबिन समितिले तोडफोड, आगजनी तथा मोबाइल लुटपाटसँग सम्बन्धित आर्थिक पक्षको अनुसन्धान गरेको छैन ।
यसकारण भयो कमान्डमा कमजोरी
यातायात मजदुरको आन्दोलनका कारण बालाजुस्थित माछापोखरी र गोंगबु क्षेत्र १ फागुनको बिहानैबाट तनावग्रस्त थियो । आन्दोलन नियन्त्रणका लागि प्रहरी वृत्त बालाजु र सोह्रखुट्टेको टोली माछापोखरी क्षेत्रमा खटिएका थिए । नयाँ बसपार्क र गोंगबु क्षेत्रमा भने महाराजगन्ज वृत्तका टोली थिए ।
आन्दोलनकारीले दिनभरजसो प्रहरीतर्फ ढुंगामुढा प्रहार गरे । प्रतिकारमा प्रहरीले लाठीचार्ज तथा अश्रुग्यास प्रहार गर्यो । दुई पक्षबीच झडप चलिरहेको थियो । यहीक्रममा साँझ ५ बजेपछि आन्दोलनकारी एकाएक उत्तेजित बने । ‘फिल्ड’मा सँगै खटिएका बालाजु र सोह्रखुट्टे वृत्तका दुई डिएसपी घटनाको विश्लेषण गर्न चुके जसलाई संगठनमा सबैभन्दा ठूलो गल्ती मानिन्छ । परिणामतः आन्दोनकारी प्रहरीमाथि हाबी भयो । मनोबल बढेका आन्दोलनकारी थप आक्रामक भए । कमान्ड मात्र नभई आफू चढेको गाडी र प्रहरी बिटसमेत छाडेर ‘फिल्ड’मा खटिएका प्रहरी एकाएक पछि हटे । यही मौकामा आन्दोलनकारीले प्रहरीको बिट मात्र नभई दुईवटा गाडीमा समेत आगो लगाए ।
प्रहरी पैदलै खटिँदा ल्होत्से मलमा लुटपाट
उग्र बनेका आन्दोलनकारी गोंगबुस्थित पूजाकोटी पेट्रोल पम्पमा आगजनी गर्न अघि बढेको सूचना प्रहरीकहाँ पुग्यो । प्रहरी वृत्त महाराजगन्जको टोली पेट्रोल पम्प सुरक्षामा खटियो । जुनवेला वृत्त प्रमुख डिएसपी अंगुर जिसी ल्होत्से मलको व्यवस्थापन पक्ष र आन्दोलनकारीबीच भइरहेको वार्तामा सहभागी थिए । घटना नियन्त्रणभन्दा बाहिर जान सक्ने आकलन डिएसपी जिसीले गरिसकेका थिए । सहयोगका लागि उनले नयाँ बसपार्क क्षेत्र सुरक्षाका लागि थप टोली मगाए ।
काठमाडौं परिसरले घटनास्थलतर्फ सोह्रखुट्टे वृत्तका टोली पठाउन सोह्रखुट्टे वृत्तलाई निर्देशन दियो । वृत्त प्रमुख बमले मातहतका टोलीलाई पैदलै घटनास्थल जान निर्देशन दिए, जुन उनको अर्को गल्ती थियो । परिणामतः निर्धारित समयमा प्रहरी नयाँ बसपार्क क्षेत्रमा पुग्न सकेन । उग्र बनेका आन्दोलनकारी ल्होत्से मल पसेर मोबाइल पसल लुटे ।
काठमाडौं परिसर प्रमुख जोगिए
बालाजु र सोह्रखुट्टे वृत्त जिल्ला प्रहरी परिसर काठमाडौंको निर्देशनमा चल्छ । बालाजु घटनाका दिन परिसरका एसपी सीताराम रिजाल फिल्डमै खटिएका थिए । परिसर प्रमुख एसएसपी दानबहादुर कार्की पनि कमान्डमै थिए । तर, छानबिन समितिले दुवै वृत्तका कमान्डर एसएसपी कार्कीलाई कारबाहीको कुनै सिफारिस गरेको छैन । कमान्ड प्रभावकारी नभएको भन्दै समितिले सुधार गर्न सुझाव भने दिएको छ । छानबिन समितिमा संलग्न एक उच्च अधिकारीले भने, ‘दुवै वृत्तको कमान्डर स्वाभाविक रूपमा काठमाडौं परिसर प्रमुख हो । मातहतका वृत्तले गरेका कामको जस–अपजस परिसरलाई नजाने कुरै भएन । तर, यसपटक परिसरलाई सामान्य सुझावबाहेक कारबाहीको सिफारिस भएको छैन ।’
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी हिमालय श्रेष्ठ भन्छन् –बालाजुमा भएको तोडफोड तथा आगजनीको विषयलाई अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको थियो । यसक्रममा समितिले आन्दोलनका दिन गरिएका कमान्ड र भएका ‘ल्याप्सेस’ लाई अध्ययन गर्यो । यसक्रममा वृत्त प्रमुखले प्रभावकारी कमान्ड गर्न नसकेको देखियो । उनीहरूलाई समितिले कारबाही गर्न सिफारिस गरेको छ ।