गड्डाचौकीबाट भन्सार छली भित्र्याइएको अवैध सामान प्रहरीको नियन्त्रणमा

आइतबार, ७ फागुन, २०७९
डिजिटल संस्करण

कञ्चनपुरको मूल भन्सार कार्यालय गड्डाचौकीबाट चोरी तस्करी रोकिएको छैन । पश्चिमी नाका गड्डाचौकीमा मूल भन्सार रहेको कञ्चनपुरबाट तस्करी नरोकिएपछि प्रहरीलाई हम्मेहम्मे भएको छ ।

आइतबार मात्रै भारतीय बजार वनबासाबाट भन्सार नकाटेरै नेपालतर्फ भित्र्याउन थालेको अवस्थामा प्रहरीले अवैध सामान बरामद गरेको छ । आइतबार बिहानै ३ बजेतिर इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले भन्सार नकाटेको अवैध सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी भरतराज गिरीले विशेष सूचनाको आधारमा अवैध समान बरामद गरिएको बताए ।

भीमदत्त नगरपालिका– १० काठेपुलबाट बेवारिसे अवस्थामा बरामद अवैध सामान नियन्त्रणमा लिएर भन्सार चलान गरिएको उनको भनाइ छ । सूचना अधिकारी गिरीका अनुसार चप्पल, कपडा, हार्डवेयर, वाएरिङलगायत झन्डै दुई लाख २१ हजार ७८० रुपैयाँबराबरको अवैध सामान बरामद गरेर भन्सार बुझाइएको हो । 

यसरी भन्सारनजिकको क्षेत्रबाटै पटकपटक अवैध सामान बरामद भएपछि भन्सारसँगकै सेटिङमा सामान भित्रिने गरेको प्रहरी अधिकारीहरूको आशंका छ । भन्सारका कर्मचारीले तस्कर समूहसँग साँठगाँठ गरेको केही प्रहरी अधिकारीको आरोप छ ।

सुझावित समाचार