सम्झौता सकिन पाँच महिना बाँकी शीतभण्डारको ३० प्रतिशत काम सम्पन्न

आइतबार, ७ फागुन, २०७९
डिजिटल संस्करण

डुडुवा गाउँपालिका–६, हिरमिनियामा निर्माणाधीन शीतभण्डारको काम ३० प्रतिशत मात्र पूरा भएको छ । सम्झौता भएको दुई वर्षमा निर्माण सक्ने गरी १७ असार ०७९ मा ठेक्का सम्झौता भए पनि अहिलेसम्म ट्रस्ट निर्माणको कामसमेत पूरा नभएको पारामाउन्ट नेचुरल जेभी काठमाडौंका प्रमुख कमल अधिकारीले बताए । उनले ट्रस्ट निर्माणको काम ७० प्रतिशत पूरा भएको बताए । 

ट्रस्ट निर्माणको काम भारतीयले लिएका छन् । ठेकेदार कम्पनीले निर्माण सामग्री समयमा नल्याउँदा १० फेब्रुअरीदेखि काम ठप्प भएको ट्रस्ट निर्माण गर्दै आएका भारतीय धनञ्जयकुमार शर्माले बताए । ‘कहिले सामान आउँदैन । कुनै वेला जेनेरेटरले काम गर्दैन । निर्माण कम्पनीका कारण सुतेर दिन बिताउनुपरेको छ,’ उनले भने । 

डुडुवा गाउँपालिकाको पाँच करोड ८९ लाख २८ हजार पाँच सय ५२ रुपैयाँ ३० पैसामा शीत भण्डार निर्माण भइरहेको छ । सम्झौताअनुसार निर्माण कम्पनीले १९ असार ०८० मा निर्माण पूरा गरी डुडुवा गाउँपालिकालाई बुझाउनुपर्नेछ । तर, तोकिएको समयमा निर्माण पूरा गर्न नसकिने निर्माण कम्पनीले स्वीकार गरेको छ । ‘तोकिएको समयमा निर्माण पूरा हुने सम्भावना छैन । कम्तीमा चार महिना समय थप गर्नुपर्ने देखिन्छ,’ निर्माण कम्पनीका प्रमुख अधिकारीले भने । 

पर्खाल, मुख्य प्रवेशद्वार, शौचालयलगायतका काम पनि अधुरा छन् । उनले समयमा काम नसकिनुको एउटा कारण जग्गा विवाद भएको दाबी गरे । ‘ऐलानी जमिन हो । यो जमिनमा सशस्त्र प्रहरीको समेत दाबी थियो । नक्सा क्लियर थिएन,’ उनले भने । 

सहज रूपमा निर्माण सामग्री नपाएका कारण निर्माणमा ढिलाइ भएको उनले बताए । अधिकांश निर्माण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण कार्यलाई तीव्रता दिन नसकेको उनको भनाइ छ । ‘एलसीमार्फत निर्माण सामग्री ल्याउँदा समय लागेको हो । शिवरात्रिपछि निर्माणको काम तीव्र गतिमा अगाडि बढ्छ,’ उनले भने । निर्माण कम्पनीले शीतभण्डार निर्माणस्थलमा सूचना पाटीसमेत राखेको छैन । सूचना पाटीलाई हावाहुरीले उडाएपछि पुनः नराखेको अधिकारीले  जिकिर गरे । 

सुझावित समाचार