खुदुर्के भिरको वनमा लागेको डढेलोले दुई गाउँ जोखिममा

आइतबार, ७ फागुन, २०७९
डिजिटल संस्करण

पाथिभरा गाउँपालिका– ३ थेचम्बुको खुदुर्के भिरको सरकारी वनमा शुक्रबार बिहानदेखि लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । डढेलो लागेका कारण भिरदेखि ममाथिका गाउँका बासिन्दा राति सुत्न सकेका छैनन् । आगोको लप्का उडेर आउने र घर जलाउने डरले उनीहरू रातभरि जाग्राम बसेका छन् । 

शुक्रबार बिहान करिब ७ बजेतिर देखिएको आगोे राति भएपछि झन् फैलिएको थियो । शनिबार दिउँसो गाउँलेले डढेलो निभाउने प्रयास गरे पनि प्रयास असफल भएको छ । भिरदेखि माथि रहेको मैदाने र खाल्डेगाउँमा जोखिम बढेको छ । कथंकदाचित गाउँमा आगोको लप्काले भेटेमा गाउँ नै सखाप हुने अवस्था रहेको स्थानीय बताउँछन् ।

गाउँपालिकाका अध्यक्ष केसर मेन्याङ्बोले भने गाउँलेले नै भिरमा आगो लगाउने गरेको बुझिएको बताए । वास्तविक पहिचान भने हुन बाँकी रहेको उनको भनाइ छ । ‘भिरको टुप्पाबाट गाउँलेले आफैँ आगो लगाउँछन् भन्ने सुनेको छु । तर, पहिचान हुन बाँकी छ,’ उनले भने । छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने मेन्याङ्बोले बताए । आगो लगाएपछि भिरमा राम्रो घाँस आउने स्थानीयमा लोभ देखिएको उनले बताए ।

भिर तथा घरमा अचानक आगलागी भएमा विपत् व्यस्थापना योजनाअन्तर्गत पालिकाको विभिन्न ठाउँमा पानीट्यांकी निर्माणसमेत गरेको अध्यक्ष मेन्याङ्बोले बताए । उनले गाउँपालिकाको वडा नम्बर १ मा आठ लाखको लागतमा चारवटा पानी सञ्चय गर्ने ट्यांकी निर्माण गरेको तथा वडा नम्बर ३ थेचम्बुमा ट्यांकी निर्माण भइरहेको जानकारी दिए । 

See More On

सुझावित समाचार