ओखलढुंगामा एकीकरण अभियान झल्काउने ऐतिहासिक संग्रहालय

शनिबार, ६ फागुन, २०७९
डिजिटल संस्करण

नेपाली सेनाले ‘ओखलढुंगा ऐतिहासिक संग्रहालय’ निर्माण गरेको छ । सेनाको अरिदमन गणले पृथ्वीनारायण शाहले राज्य एकीकरणमा प्रयोग गरेका हातहतियारलगायतका पुरातात्विक सामग्रीको संरक्षण गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिका– ४ रुम्जाटारमा ऐतिहासिक संग्रालय बनाएको हो । 

शुक्रबार एक औपचारिक कार्यक्रमबीच उक्त संग्रहालय उद्घाटन गरिएको छ ।  सेनाले २० लाख खर्चेर निर्माण सम्पन्न गरेको संग्रहालयको स्वामित्व स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । श्री नं. १८ बाहिनीपति सहायक रथी सन्तोषराज पाण्डेले उद्घाटन गर्दै संग्रहालय सिद्धिचरण नगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले नेपाली सेनाले निर्माण गरेको संग्रहालयले जिल्लाको सुन्दरतामा ऐतिहासिकता थपेको बताए । नगरपालिकाको स्वामित्वमा आएपनि अझै केही समय यसको व्यवस्थापन र दिगोपनामा नेपाली सेनाको साथ आवश्यक रहेको नगरप्रमुख खनालको भनाइ थियो ।

देशको रक्षा र इतिहासको संरक्षणमा नेपाली सेनाले ओखलढुंगाको ऐतिहासिकता झल्काउने संग्रहालय निर्माण गरेको सहायक रथी सन्तोषराज पाण्डेको भनाइ थियो ।

पृथ्वीनारायण शाहले एकीकरण अभियान सञ्चालन गर्नुअघि र पछि जिल्लामा थुप्रै इतिहास रहेकाले त्यसलाई संग्रहित गर्न संग्रहालय निर्माण गरिएको गणपति ईमेश मेयर श्रेष्ठले बताए । त्यस समयमा रुम्जाटार आक्रमण गर्ने बेलामा प्रयोग भएका हातहतियार  अहिले पनि घरघरमा संरक्षित भएको पाइएकाले इतिहासलाई संरक्षण गरौं भन्ने उद्देश्यले उक्त कार्य अघि बढाइएको गणपति श्रेष्ठको भनाइ छ ।

नेपाली सेनाको क्वीक इनप्याक्ट प्रोजेक्टबाट निर्माण गरिएको संग्रालयमा रुम्जाटार आक्रमणमा प्रयोग गरिएका हतियारहरु, बाइङ् राईले लगाएको मुकुट, त्यसबेला प्रयोग गरेको धनुष, पोसाकहरुलगायतका वस्तुहरु राखिएको छ । ओखलढुंगाको ऐतिहासिकतासँगै प्राचीन संस्कृति परम्परासँग जोडिएका विभिन्न सामग्रीहरुको साथमा भेषभूषासमेत संग्रहालयमा राखिएको छ । ढकन, तुलो, चिलिम डन्डी, सास्त्री (फोरेसो), ढाँडु, जाँतो, टुकी, धिप्रि, कपडा बुन्ने तानदेखि राँटा (चर्खा), ढडिया (ढोक्सा)जस्ता दर्जनौं प्रकारका लोपोन्मुख सामग्रीसमेत संग्रहालयमा देख्न पाइन्छ ।

सुझावित समाचार