किर्ते गरी बेचिएका थिए तुलसीपुर बसपार्कका घडेरी

शनिबार, ६ फागुन, २०७९
डिजिटल संस्करण
किर्ते गरी बेचिएका थिए तुलसीपुर बसपार्कका घडेरी

तुलसीपुर उपमहानगरपालिकाले बिक्रि गरेको जग्गामा बनेका संरचना

२०५३ सालमा तुलसीपुर बसपार्कलाई पातुखोला किनारमा सारियो । पहिले हाल तुलसीपुर उपमहानगरपालिकाको दक्षिणतर्फ बसपाक थियो ।  पातुखोलामा बसपार्क सारेपनि बसपार्क निर्माणकालागि विभिन्न निकायले आर्थिक सहयोग गरेका थिए । पहिलो वर्ष आर्थिक सहयोग गरेपनि दोस्रो वर्ष सहयोग नगरेपछि त्यो बसपार्क अधुरो नै थियो।

बसपार्क पूर्ण गर्नकालागि त्यहाँ त्यस आसपासरमा घडेरी विक्री गर्ने निर्णय गरियो । पातुखोलाको ऐलानी जग्गा तत्कालिन नगरपालिकाले आफ्नो नाममा लियो । आफ्नो नाममा लिएपछि केही बसपार्ककालागि भयो भने बसपार्कदेखि उत्तरतर्फलगायत केही जग्गा घेडेरीकालागि छुट्याइयो । त्यसै अनुसार प्लटिङ पनि गरियो । 

६ मिटर चौडाई र २० मिटर लम्बाईका घडेरी प्लटिङ पछि सबैलाई पाँच सय रुपैयाँ बराबरको कुपन काट्न आह्वान गरेर चिठ्ठा खोलियो । त्यसपछि चिठ्ठा मार्फत २५/२५ हजारमा विक्री गरियो । तत्कालिन नगरप्रमुख शंकर आचार्य हुँदा १० चैत २०५३ मा निर्णय गरेर घडेरी विक्री भएपछि किन्नेहरुलाई सेतो अस्थायी पूर्जा दिईयो।

किर्ते दस्तखत गरि बदनियत पूर्वक वितरण भएको अख्तियारको ठहर

तर, अख्तियारले त्यो कार्य गैरकानुनी भनेको छ । १० चैत २०५३ को घडेरी विक्री भनि गरेको निर्णय कानुनले तोकेको विधि र प्रक्रिया बमोजिमको बैठकको प्रक्रिया नपुगेको तथा किर्ते दस्तखत गरि बदनियत पूर्वक वितरण भएको अख्तियारको ठहर छ । 

नगरपालिकामा भएको निर्णय दुष्परिणाम भएको भन्दै त्यसलाई सच्चाउन २७ असार २०७१ मै अख्तियारले नगरपालिकालाई भनेको थियो । तर, पनि यसमा तत्कालिन नगरपालिका तथा अहिले उपमहानगरपालिका बन्दा पनि चाँसो दिइएको थिएन । 

अहिले आएर त्यो विषय उठेको छ । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो जग्गा खोजी गर्न थालेपछि त्यो कुरा अहिले उठेको हो । उपमहानगरपालिकाको नाममा रहेको कैयै विघा जग्गा अतिक्रमण भएर किनबेच भएसँगै अहिले ठूला–ठूला संरचना बनेका छन् । त्यसलाई हटाउने अभियान अन्तर्गत उपमहानगरपालिकाले अहिले खोजिनीति गर्दा त्यस्तो भेटिएको हो । 

उपमहानगरले उल्टै बेच्यो जग्गा 
तुलसीपुर उपमहानगरपालिकाले आफ्नो जग्गामा बनेका संरचना हटाउने नीति लिएपछि उल्टै विक्री गर्न थालेको छ । बसपार्क क्षेत्रमा तत्कालिन नगरपालिकाले ६ मिटर चौडाई र २० मिटर लम्बाई भएको घडेरी विक्री गरेको थियो । तर, घडेरी किन्नेहरुले २२ मिटर लम्बाई नै भोगचलन गरे । अहिले भोगचलन गरेको थप दुई मिटर जग्गा पनि उपमहानगरपालिकाले विक्री गर्ने निर्णय गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको गत २६ माघमा भएको १२ औं नगरसभाले थप लम्बाई २ मिटर (१२ बर्गमिटर) जग्गालाई प्रति बर्गमिटर २० हजारका दरले विक्री गरेको हो । उपमहानगरपालिकाले २ लाख ४० हजार दस्तुर लिएर जग्गा बिक्री गर्न थालेको हो । 

सोही दस्तुर लिएर सम्बन्धित व्यक्तीका नाममा रजिष्ट्रेसन पास गरिदिनु भनि नापी र मालपोत कार्यालयलाई सिफारिस गर्ने नगरसभाले निर्णय गरेको छ । उपमहानगरपालिकाको नाममा रहेको तुलसीपुर ‘ख’ कित्ता नम्बर ५४३ का घडेरीहरु तत्कालिन अबस्थामा बिक्री गरिएको थियो ।
 

सुझावित समाचार