इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी साे ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन हुने भएको छ । यी दुवै कार्यक्रमको फिल्ड अडिसन नेपालको विभिन्न सहरसँगै इन्डियाको सिलिगुडीमा हुने भएको छ ।
नेपालगन्जमा फागुन ६ गते, बुटवलमा फागुन १०, सिलिगुडीमा फागुन १४ र १५, दमकमा फागुन २० र २१ गते र काठमाडौंमा फागुन २७ र २८ गते हुनेछ ।
अडिसन दिन आउँदा प्रतियोगीले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनुपर्ने हुन्छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगी काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् । साथसाथै देश–विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिस्टर गर्न सक्नेछन् ।
डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीले पनि अनिवार्य रूपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ । त्यसबाहेक ‘मेरो डान्स युनिभर्स’को सांस्कृतिक समूह विधामा सहभागी हुन चहानेले पनि एपमार्फत अडिसन दिन सक्नेछन् । सांस्कृतिक समूहमार्फत सहभागी हुनेले भने फिल्ड अडिसनमा उपस्थित हुन पर्नेछैन । डिजिटल अडिसनको अन्तिम मिति फेब्रुअरी २८ तोकिएको छ भने अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनपर्नेछ ।
फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले आफ्नो भाषा र संस्कृति बचाउन कार्यक्रमको आयोजना गरिएको बताए । साथै दुःखमा परेकाहरूलाई सहयोग गर्ने फाउन्डेसनमो मुख्य उद्देश्य भएको उल्लेख गरे । यी दुई साे नेपालकै सर्वाधिक धेरै धनराशि भएको रियालिटी साे हुन्। विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।