ब्याजदर बढ्दा बैंकहरूको कर्जा लगानी सुस्त

२३ बैंकको सात महिनामा एक खर्ब ९९ अर्ब निक्षेप थपिँदा एक खर्ब १५ अर्बको कर्जा प्रवाह

शुक्रबार, ५ फागुन, २०७९
डिजिटल संस्करण

 ब्याजदर वृद्धिको असर वाणिज्य बैंकहरूको लगानीमा परेको छ । सात महिनामा निक्षेप बढ्दै गए पनि बैंकहरूको कर्जा भने सुस्त देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार सात महिनामा (साउन–माघ) २३ वाणिज्य बैंकहरूको निक्षेप संकलनमा औसत ४.४२ प्रतिशतले वृद्धि भएको छ, तर कर्जा लगानीको वृद्धिदर भने औसतमा २.९८ प्रतिशत मात्रै छ । सात महिनामा वाणिज्य बैंकहरूमा एक खर्ब ९९ अर्ब निक्षेप थपिँदा एक खर्ब १५ अर्बको कर्जा प्रवाह भएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म बैंकहरूको कोषको लागत औसतमा ८.५३ प्रतिशत र आधार दर ११.०६ प्रतिशत पुगेको छ । कर्जाको ब्याजदर मूलतः आधार दरमा आधारित छ । बैंकहरूले निक्षेपमा दिने ब्याजको औसत लागतमा अनिवार्य नगद मौज्दात, वैधानिक तरलता अनुपात र बैंकहरूको सञ्चालन लागत जोडेपछि आधार दर निर्धारण हुने गर्छ । निक्षेपको लागतमा हुने घटबढअनुसार आधार दर पनि तल–माथि हुने गर्छ ।

रकमका आधारमा हेर्ने हो भने २३ वाणिज्य बैंकहरूको निक्षेप औसतमा नौ अर्बले बढ्दा कर्जा लगानी औसतमा पाँच अर्ब २३ करोड मात्रै भएको छ । ब्याजदर वृद्धि हुँदा कर्जाको माग घट्नु स्वाभाविक भएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए । रेमिट्यान्सको आप्रवाह बढ्दा बैंकहरूको निक्षेपमा समेत वृद्धि भइरहेको उनले बताए । नेपाल राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्ममा रेमिट्यान्स २४.३ प्रतिशतले बढेको छ । 

पछिल्लो समय राजस्व संकलनमा आएको गिरावटका कारण सरकारी ढुकुटीमा स्रोत अभाव भएपछि सरकारले पुँजीगत बजेटको आकार नै घटाएको छ । यसले आगामी दिनमा संकलन हुने निक्षेप प्रभावित हुने जोखिम बढेको छ । यद्यपि, पुँजीगत खर्च बढ्न नसके पनि चालू खर्चले समेत निक्षेपमा वृद्धि हुने भएकाले त्यसको प्रभाव देखिएको अधिकारीको भनाइ छ । उनले भने, ‘ब्याजदर महँगो भएकै कारणले कर्जाको माग घटेको देखिन्छ । साथै, निक्षेप पनि बढेको छ । रेमिट्यान्स बढेका कारण निक्षेपमा सुधार आएको हो । अर्काेतर्फ सरकारले पुँजीगत खर्च गर्न नसके पनि चालू खर्च गरेकै छ । यसले अल्पकालका लागि भए पनि बजारमा सहजता ल्याएको देखिन्छ ।’

कर्जातिर ब्याजदर महँगो भएकाले उद्योग–व्यवसाय कसरी धान्ने द्विविधाका कारण निजी क्षेत्र पर्ख र हेरको अवस्थामा छन् । जसकारण अहिले कर्जाको माग सुस्त रहेको उनको टिप्पणी छ ।  गत माघमा बैंकहरूले निक्षेप घटाएकाले वैशाखसम्ममा कर्जाको ब्याजदर केही सस्तो हुने उनले बताए । यद्यपि, बाह्य चुनौती कायमै रहेकाले कर्जाको ब्याजदर विगतकै अवस्थामा फर्किन भने केही समय पर्खिनुपर्ने उनको भनाइ छ ।

सुझावित समाचार