घरायसी सेवाका लागि भेटायो एप्स

प्लम्बिङ, पेन्टिङदेखि मेकअपसम्मको सुविधा एउटैमा

बिहिबार, ४ फागुन, २०७९
डिजिटल संस्करण

बढ्दो डिजिटाइजेसनसँगै सर्वसाधारणलाई विभिन्न सेवा प्रवाह गर्ने उद्देश्यले ‘भेटायो’ नामक मोबाइल एप्स सुरु भएको छ । उपभोक्तालाई एउटै एपको माध्यमबाट विभिन्न सुविधा दिने उद्देश्यले यो एप सञ्चालनमा आएको हो । विशेष गरी, यसको माध्यमबाट घर, होटेल, रेस्टुरेन्टलाई आवश्यक पर्ने पेन्टिङ, प्लम्बिङ, इलेक्ट्रोसियन, क्लिनिङ (सरसफाइ)लगायतका थुप्रै सेवा पाउन सकिन्छ । साथै, आममासिनको दैनिक जीवनयापानमा आवश्यक पर्ने सेवा पनि भेटायो एप्समार्फत पाउन सकिन्छ । 

घर, होटेल तथा रेस्टुरेन्टहरूमा समयअनुसार गर्नुपर्ने मर्मत–सम्भार तथा सफाइका लागि समेत आवश्यक पर्ने पेन्टर, क्लिनर, प्लम्बर, इलेक्ट्रिसियनजस्ता जनशक्ति खोज्न यो एपबाट सहज हुने जनाइएको छ । पोखराकी अंशु शाक्यले काठमाडौंमा सुरु गरेको भेटायो एप्स सेवाले त्यस्ता म्यानपावर सजिलै र छोटो समयमा पाउन सकिने दाबी गरिएको छ ।  भेटायोले विशेष गरी  विशेष जनशक्ति आवश्यक परेको मानिसलाई सेवाप्रदायक म्यानपावरसँग भेटाउने काम गर्छ । त्यसपछि सेवा प्रदायक व्यक्तिहरूले घरमै गएर तोकिएको सेवा दिनेछन् ।

 ०१९ देखि सञ्चालनमा आएको भेटायोले सुरुमा प्लम्बिङ सेवा दिने गर्दथ्यो । तर, हालसम्म आउँदा भेटायोको दायरा निकै फराकिलो पारेको छ । भेटायोले प्लम्बिङसहित, इलेक्ट्रिसियन, पेन्टिङ, लाउन्ड्री, क्लिनिङ, पेस्ट कन्ट्रोल, आइटीसम्बन्धी सेवा सुरु गरिसकेको छ । यस्तै, घरभित्र प्रयोग गरिने फ्रिज, वासिङमेसिनलगायतका सामान मर्मतको सेवा पनि यस एप्समार्फत पाइने उल्लेख छ ।

मेकअप तथा पार्लरको सेवा पनि यस एप्समार्फत गरिनेछ । यसका लागि भेटायोले ‘पार्लर एट होम’ भन्ने सेवा सुरु गरेको छ । यसैगरी, पशु सेवा उपचार पनि भेटायो एप्समार्फत पाउन सकिन्छ । कुकुर, बिरालाजस्ता घरपालुवा जनावर बिरामी हुँदा उपचार गर्ने पशु चिकित्सक पनि सजिलै पाउन सकिनेछ । यस्तै, डिसइन्फेक्सन (निष्क्रमण)सम्बन्धी सेवा मात्र नभई सवारीसाधन धुने र ड्राइभर उपलब्ध गराउने सेवा पनि यो एप्समार्फत पाउन सकिनेछ ।

यसको सेवा सोसल मिडिया (ह्वाट्एप्स, फेसबुक), फोन सम्पर्कबाट समेत पाउन सकिने कोफाउन्डर अंशु शाक्यले बताइन् । साथै, सेवामा ३० दिनको वारेन्टीसमेत रहेको उनको भनाइ छ । 

भेटायो एप्सले अत्यावश्यक सेवामा ध्यान दिएको छ
अंशु शाक्य, कोफाउन्डर 

नेपालका थुपै सेवा प्रदायक क्षेत्र डिजिटाइजेसन भइसकेका छन् । तर, यो क्षेत्रमा डिजिटाइजेसन पूर्णरूपमा भइसकेको छैन । ग्राहक मात्र नभएर सर्भिस प्रोभाइडर पनि प्रविधिको प्रयोगमा अभ्यस्त भइसकेका छैनन् । त्यसैले हामीले सर्भिस प्रोभाइडरलाई पनि डिजिटल लिट्रेसी दिएर काम गर्दै आएका छौँ । साथै, यो एउटा इमर्जिङ मार्केट पनि हो । हामीले  जुन सेवा दिँदै आएका छौँ, त्यो अत्यावश्यक सेवाभित्र पर्छ । साथै, आममानिसमा डिजिटल लिट्रेसी पनि बढ्दै गएको छ । तसर्थ, यसको व्यावसायिक बजार राम्रो छ । 

See More On

सुझावित समाचार