सत्तागठबन्धनको भविष्यबारे साझेदार दलहरूभित्रै संशय, मौका कुर्दै विपक्षी दल

बुधबार, ३ फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रपति आफूले पाउनुपर्ने एमालेको अडान, यही निर्वाचनमार्फत राजनीतिक कोर्स करेक्सन गर्ने कांग्रेसको दाउ र राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादी प्रयासले गठबन्धनकै भविष्यमाथि प्रश्न

भावी राष्ट्रपतिलाई लिएर प्रमुख तीन दलका फरक–फरक रणनीतिले सत्तागठबन्धनको भविष्यलाई लिएर संशय पैदा भएको छ । आफ्नो पार्टीले राष्ट्रपति पाउनुपर्ने एमाले अडान, यही निर्वाचनमार्फत राजनीतिक कोर्स करेक्सन गर्ने कांग्रेसको दाउ र राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादी प्रयासले गठबन्धनकै भविष्यलाई लिएर प्रश्न उठ्न थालेका हुन् । सत्ता साझेदार दलकै शीर्ष नेताले गठबन्धनको भविष्यलाई लिएर अर्थपूर्ण अभिव्यक्ति दिन थालेका छन् । 

सत्ता साझेदारमध्ये सबैभन्दा ठूलो दल एमाले अध्यक्ष केपी ओलीले राजनीति सोझो बाटोमा नहिँडेको र पाँचदलीय गठबन्धन भत्किएर नयाँ सत्तासमीकरण बने पनि यसको भविष्यबारे टुंगो नभएको बताएका छन् । ओलीले सत्ता टिकाउन एमालेले अनुचित सम्झौता नगर्ने दाबी गरेर सत्ता राजनीतिमा केही गढबढ भइरहेको संकेत गरे । प्रधानमन्त्री प्रचण्डस“गका लगातार संवाद राष्ट्रपतिमा सहमति नजुट्दा ओलीको अर्थपूर्ण अभिव्यक्ति आएको हो । 

‘हाम्रो संसदीय बनावट अस्थिरता आउने खालको छ, अहिले देशमा स्थायित्व हुन नदिने प्रचार भइरहेका छन् । देश बर्बाद बनाउन प्रहार हुन सक्छ, एमाले सचेत हुनुपर्छ,’ उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका ओलीले मंगलबार भने, ‘सत्ता प्राप्त गर्न र टिकाउनका लागि राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय गौरव कुनै कुरा छोडेर, लत्रिएर एमाले जाँदैन ।’ 

एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराई गठबन्धन टुटाउन विभिन्न चलखेल भए पनि त्यसलाई पराजित गर्ने सन्देश ओलीले दिएको बताउँछन् । ‘कोही १० गते गठबन्धन भत्काउँछौँ भन्छन्, कोही राष्ट्रपतिको चुनावसम्म मात्रै यो गठबन्धन हो भन्छन् । विभिन्न कोणबाट प्रचार भइरहेका छन् । प्रतिकूल अवस्थामा पनि सचेत भएर अगाडि बढ्नुपर्छ । अस्थिरता निम्त्याउने खेलमा लाग्नुहुँदैन । सचेत बन्नुपर्छ भन्ने नै हो,’ भट्टराईले भने, ‘त्यसैका लागि हामीले दुई सय ७५ मा ३२ सिट भएको माओवादी संसदीय दलका नेता प्रचण्डलाई प्रधानमन्त्री स्विकारेका हौँ ।’ 

राजनीतिक स्थिरता, विकास, निर्माण र जनजीविकाको विषय सम्बोधन गर्न माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरेको उनले स्पष्ट पारे । विगतको सहमतिप्रति एमाले प्रतिबद्ध रहेको पनि उनले बताए । सहमतिअनुसार नै राष्ट्रपति एमालेको भागमा परेको उनको भनाइ छ ।

तर, सरकारको नेतृत्व गरेको माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छ । प्रधानमन्त्रीले विश्वासको मत पाउँदा राष्ट्रिय सहमति बनेको र राष्ट्रपति निर्वाचनमा पनि राष्ट्रिय सहमति आवश्यक रहेको माओवादीको तर्क छ । सहमतिमा कांग्रेस, एमाले, माओवादी, अन्य दल वा राजनीतिक पृष्ठभूमिबाहिरको पात्र पनि हुन सक्ने माओवादीको मत छ । 

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका माओवादी उपमहासचिव हरिबोल गजुरेल सहमतिको विकल्प नभएको बताउँछन् । ‘हामीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा जोड दिएका छौँ । सहमतिबाट अगाडि बढ्दा आइपर्ने जस्तासुकै समस्या पनि समाधान गर्न सकिन्छ । सहमतिको कुरा गर्दा शंका गर्नुपर्ने कारण छैन,’ उनले भने, ‘राजनीतिक स्थिरता, विकास निर्माण र जनजीविकाको सवाल सहमतिबाटै सम्भव छ । त्यसकारण जसको नाममा सहमति जुट्छ, उही राष्ट्रपति हुन्छ,’ उनले भने । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सत्ता साझेदार दलबीच सानोतिनो असमझदारी देखिए पनि तत्काल गठबन्धन फुट्नुपर्ने कारण नभएको बताउँछन् । 

प्रधानमन्त्रीका रूपमा प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने आवाज उठाउनु स्वाभाविक भएको उनी बताउँछन् । ‘प्रधानमन्त्री भनेको देशको अभिभावक पनि हो, सहमतिमा चयन गरौँ भन्ने अनौठो होइन,’ उनले भने, ‘प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्षले भनेपछि माओवादीका अन्य नेताले पनि त्यही हिसाबले बोल्नु पनि अस्वाभाविक होइन । पक्कै कांग्रेसको उम्मेदवारलाई राष्ट्रपति बनाउँदा राष्ट्रिय सहमति हुन्छ भनिएको होइन । कम्तीमा राष्ट्रिय सहमतिको आह्वान गरौँ भन्ने हो । अन्तिममा नमिल्दा भोलि सत्तापक्ष र विपक्षी गठबन्धनको आ–आफ्नो बाटो त छँदै छ ।’

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्याल गठबन्धन भत्किने विषयमा अहिले नै शंका गर्नुपर्ने अवस्था नरहेको बताउँछन् । ‘केपी ओलीले कुन सन्दर्भमा स्थिति फेरिन सक्ने संकेत गर्नुभएको हो, त्यो हेर्न भ्याएको छैन,’ उनले भने, ‘राष्ट्रपतिमा कांग्रेस पनि इच्छुक रहेको कुरा बाहिर आइरहेकै छन् । सायद त्यसैलाई लिएर उहाँले केही इंगित गर्नुभएको हुन सक्छ । गठबन्धन भत्किने विषयमा अहिले नै शंका गर्नुपर्ने अवस्था हो भन्ने हामीलाई लाग्दैन । राष्ट्रपतिको चुनावको मुखमा केही भइहाल्यो भने बोलौँला ।’

माओवादीलाई कांग्रेसले लगातार समर्थन गर्नु पछाडि राष्ट्रपतिमा उसको सहयोग मागेको हो भन्ने आशंका बाहिर बढेपछि सभापति रवि लामिछानेले संयन्त्रकै बैठक यसबारे प्रश्न गरेको अर्यालले खुलाए । ‘हिजो सरकार गठन गर्दा जुन सहमति भएको थियो, त्यसबाट दायाँबायाँ हुनुहुँदैन । त्यसैले यस विषयमा तपाईंहरू छलफल गरेर टुंग्याउनुस्, त्यसपछि हामी सरकारमा आउने–नआउने निर्णय गरौँला भनेर हाम्रो सभापतिले भन्नुभएको छ,’ उनले भने, ‘राजनीतिमा इमानदारिता देखाउनुपर्छ र हिजोका सबै सहमतिको कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’ 

कांग्रेसले सत्तागठबन्धनभित्र एकपछि अर्को अविश्वासको अवस्था सिर्जना भइरहेकाले गठबन्धन आफैँ संकटमा रहेको बताएको छ । सहमहामन्त्री जीवन परियार सरकार गठनका क्रममा अस्वाभाविक गठबन्धन बनेकाले त्यसको परिणाम सरकार सञ्चालनमा देखिन थालेको बताँउछन् । 

सोमबार सुदूरपश्चिमबाट प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता रमेश लेखक एउटै हेलिकोप्टरबाट काठमाडौं फर्किनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । 

एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल सरकार आफ्नै कारणले धरापमा रहेको बताउँछन् । एमाले अध्यक्ष ओलीले विपक्षी गठबन्धनलाई आरोप लगाउनुको कुनै तुक नरहेको उनी बताउँछन् । भुसालले नयाँ समीकरण बनाउने विषयमा कुनै छलफल नभएको दाबी गरे ।

जसपा अध्यक्ष उपेन्द्र यादव वर्तमान सत्तागठबन्धनको कुनै भविष्य नरहेको बताँउछन् । उनी गठबन्धनका घटकमा आपसमा शंका–उपशंकाको अवस्था रहेकाले गठबन्धन विघटनको बाटोमा रहेको उनको टिप्पणी छ । ‘ओलीजीले कुनै नयाँ कुरा भन्नुभएको छैन । हामीले भन्दै आएका हौँ– यो गठबन्धनको कुनै भविष्य छैन । स्वार्थका कारण परस्पर विरोधी शक्तिहरू एक ठाउँमा आएका हुन् । यी घटकबीच आपसमा विश्वास छैन, शंका–उपशंकाको अवस्था सुरु भइसकेको छ,’ उनले भने, ‘स्वार्थ मिलेको खण्डमा मिलेका हुन्, स्वार्थ बाझिँदा आफ्नो बाटो लाग्छन । हामीले कुनै प्रयास गरिरहनुपर्दैन । गठबन्धन आफैँ भत्कने बाटोमा छ ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ राष्ट्रपतिको विषयमा कुरा नमिलेपछि असन्तुष्टि सार्वजनिक भएको हुन सक्ने बताउ“छन् । ‘सत्तारूढ गठबन्धन सत्ताको लेनदेनमै अड्किएको छ । विचार, सिद्धान्त, दर्शनका आधारमा गठबन्धन बनेको भए दीर्घकालीन हुन्थ्यो । तर, अहिले सत्ताकै लागि गठबन्धन बनेको हुनाले जुनसुकै वेला तलमाथि हुन सक्छ,’ उनले भने, ‘यो विचार, सिद्धान्त र कुनै एजेन्डामा आधारित भएर नबनेको गठबन्धनमा राष्ट्रपतिको विषयमा कुरा नमिलेपछि असन्तुष्टि सार्वजनिक भएको हुन सक्छ ।’

सुझावित समाचार