कुशलको शतकमा नेपालको ऐतिहासिक जित

बुधबार, ३ फागुन, २०७९
डिजिटल संस्करण

नेपालले आइसिसी पुरुष विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियामाथि दुई विकेटको ऐतिहासिक हात पारेको छ । नामिबियामाथि प्राप्त जित नेपालको अहिलेसम्म आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा सर्वाधिक ठूलो लक्ष्य पछ्याएको हो ।

नेपालको सानदार जितमा ओपनर कुशल भुर्तेलले एक सय १५ रनको शतकीय इनिङ्स खेलेका थिए । साथै, फास्ट बलर करण केसीले लिग २ मा तेस्रोपटक पाँच विकेट पूरा गर्न सफल भए । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले पहिलो ब्याटिङ गरी सबै विकेट गुमाएर दुई सय ८५ रनको विशाल योगफल खडा गरेको थियो । नेपालले ४७.४ ओभरमा आठ विकेटको क्षतिमा जित निकाल्न सफल भयो । 

यसअघि, नेपालले सन् २०१९ मा युएईविरुद्धको तेस्रो एकदिवसीय खेलमा दुई सय ४४ रनको लक्ष्य पार गरेको थियो । त्यसवेला नेपालले युएईले प्रस्तुत गरेको लक्ष्य ४४.४ ओभरमा ६ विकेट गुमाउँदै हात पारेको थियो । प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा नेपालले लिग २ मा महत्वपूर्ण दुई अंक जोड्न सफल भयो । नेपालले २५ खेलमा २० अंक जोड्यो । दुई अंक बटुले पनि नेपाल छैटौँ स्थानमा यथावत् छ । सात वर्षपछि नेपाली भूमिमा प्रतिस्पर्धा गरेको नामिबिया ३७ अंकका साथ तेस्रो स्थानमा छ । 

९९ बलमा सय रन
लक्ष्य पछ्याएको इनिङ्समा कुशल र आसिफ शेखले ओपनिङ गरेका थिए । इनिङ्सको १.५ ओभरमा शेखले आफ्नो विकेट गुमाए । त्यसपछि कुशलले पूर्वकप्तान ज्ञानेन्द्र मल्लसँग दोस्रो विकेटका लागि ५० रनको साझेदारी गर्दै नेपाललाई ३–१ बाट ५३–२ को स्थितिमा पुर्‍याए । मल्लले ३५ बलमा २५ रन बनाए ।

कुशलले करिअरकै पहिलो शतक बनाउने क्रममा कप्तान रोहितकुमार पौडेल, सन्दीप जोरा र करण केसीसँग गतिलो साझेदारी गरे । कुशलले आफ्नो शतक ९९ बलमा पूरा गर्न सफल भए । उनले एक सय १३ बलको सामना गरी १० चौका र चार छक्काको सहयोगमा एक सय १५ रन बनाए । उनी इनिङ्सको ४७.२ ओभरमा आउट भए । कुशल आउट हुँदा नेपाललाई जितका लागि तीन रन आवश्यक थियो । कुशल नेपाली एकदिवसीय खेलमा ओपनरमा ब्याटिङ गरी शतक बनाउने पहिलो क्रिकेटर हुन् । समग्रमा नेपालका लागि उनी एकदिवसीय खेलमा शतक ठोक्ने चौथो खेलाडी हुन् ।

नेपालबाट रोहितकुमार पौडेल, पारस खड्का र दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन् । कुशल अन्तर्राष्ट्रिय टी–२० र एकदिवसीय खेलमा शतकीय इनिङ्स खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । पारस खड्का र दीपेन्द्रसिंह ऐरीले पनि दुवै विधामा शतक प्रहार गरेका छन् । 

दुई जीवनदान पाएका रोहित चम्किए
लक्ष्य पछ्याउँदा नेपालका कप्तान रोहितले दुईपटक जीवनदान पाए । दुई जीवनदानको भरपूर प्रयोग गर्दै रोहितले अर्धशतकीय इनिङ्स खेल्न सफल भए । उनले ७६ बलमा सात चौका र तीन छक्काको सहयोगमा ७२ रन बनाए । रोहितले कुशलसँगको शतकीय साझेदारी गर्दै नेपालका लागि जितको आधार बनाए । रोहित २७ रन र ३९ रनमा आउट हुनबाट बचेका थिए । नेपालको जितमा सन्दीप जोराले २४ बलमा तीन चौका र एक छक्का प्रहार गरी २८ रन बनाए । करण केसीले १२ बलमा दुई छक्का र एक चौका प्रहार गरी २० रन बनाए । नामिबियाका रुबेन ट्रम्पलम्यानले १० ओभरमा ४८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । 

माइकलको शतक
टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाका लागि माइकल भान लिंगेनले एक सय ३३ रनको शतकीय इनिङ्स खेलेका थिए । उनले एक सय ३७ बलमा नौ चौका र पाँच छक्का प्रहार गरेका थिए । उनको यो लगातार दोस्रो एकदिवसीय शतक हो । संयोगले उनले नेपालविरुद्ध नै शतक ठोके । गत डिसेम्बरमा उनले नेपालविरुद्ध नै एक सय २१ रनको शतकीय इनिङ खेलेका थिए । नामिबियाको इनिङ्समा कप्तान जेरार्ड इरास्मस ७९ बलमा २ चौका र ३ छक्कासहित ५६ रन बनाए । तेस्रो विकेटका लागि जेरार्ड र लिंगेनले १ सय २४ रनको साझेदरारी गरेका थिए ।

अन्तिमसम्म फिनिसिङगर्न नसक्दा दुःख लाग्यो
 कुशल भुर्तेल, ब्याट्सम्यान, नेपाल

व्यक्तिगत शतकभन्दा पनि नेपालले महत्वपूर्ण जित निकालेको छ । यसपटक टोलीले राम्रो गर्न सकेकोमा खुसी छु । हामी जे योजना बनाएर मैदानमा प्रवेश गरेका थियौँ, त्यो सफल भएको छ । मेरो प्रयास अन्तिमसम्म फिनिसिङ गर्ने थियो । तर, मैले आफ्नो विकेट गुमाएँ । यसमा केही दुःख लागेको छ । पहिलो एकदिवसीय शतक प्रहार गर्दा धेरै नै खुसी छु । सन्दीप लामो समयपछि मैदानमा फर्किए । उनलाई पनि सबैले हौसला दिए । नराम्रो समयको बारेमा धेरै सोच्दिनँ । यसका लागि कडा मिहिनेत गरेको छु । मलाई थाहा थियो, पक्कै राम्रो समय पनि आउँछ । मलाई आजको खेलमा प्रशिक्षकले नै ओपनरको भूमिका दिनुभएको हो । ओपनिङ गर्दा नै बढी सहज महसुस गर्छु । 

नामिबियामाथिको जितले मनोबल बढ्यो
रोहितकुमार पौडेल, कप्तान, नेपाल 

यो जितपछि खेलमा लय मिलेको छ । यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रयास हुनेछ । हामीले अभ्यासका क्रममा बनाएका रणनीतिलाई अवलम्बन गर्दा सफलता मिलेको हो । डगआउट समयमा हामीलाई प्रशिक्षकले हौसला दिनुभएको थियो । जसका कारण नेपालले ठूलो लक्ष्य सहजै पछ्याउन सक्यो । ऐतिहासिक जित निकाल्दा खेलाडीहरू सबै उत्साहित बनेका छन् । अहिले खेलाडीहरूको मनोबल उच्च भएको पाएको छु । 

हजार रन पूरा गर्ने रोहित पहिलो नेपाली
कप्तान रोहित एकदिवसीय खेलमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । रोहितले यो उपलब्धि आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध ५५ रन बनाउँदै हात पारेका हुन् । रोहितले ३३ एकदिवसीय खेलमा ३३ इनिङ्स खेल्दै एक हजार १७ रन बनाएका छन् । उनले यसक्रममा एक शतक तथा ६ अर्धशतकीय इनिङ खेले । रोहितले २६.१ ओभरमा माइकल भान लिंगेनले फालेको बलमा चौका प्रहार गर्दै एक हजार रन पूरा गरेका थिए । रोहितले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध दोस्रो एकदिवसीय खेलमा डेब्यु गरेका थिए । गत वर्ष रोहित उपकप्तान बनेका थिए । 

गत भदौमा सन्दीप लामिछानेलाई बलात्कारको आरोप लागेपछि क्यानले रोहितलाई कप्तानीको जिम्मेवारी दिएको थियो । नेपाली टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल दोस्रो स्थानमा छन् । ज्ञानेन्द्रले २७ खेलमा ६ अर्धशतकसहित ७ सय ३४ रन बनाएका छन् । यसैगरी, आसिफ शेख ६ सय ५५ रनका साथ तेस्रो स्थानमा छन् । शेखले २४ खेलमा पाँच अर्धशतकीय इनिङ्स खेलेका छन् । आरिफ शेख नेपाली टोलीबाट एकदिवसीय खेलमा चौथो सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले ३२ खेलमा चार अर्धशतकसहित ५ सय ८२ रन बनाएका छन् ।

 रोहित र कुशलको कीर्तिमानी साझेदारी
नेपालले नामिबियाविरुद्ध जित निकाल्दा थुप्रै रेकर्ड राखेको छ । यसै रेकर्ड राख्ने क्रममा कप्तान रोहित र ओपनर भुर्तेलले नेपाली एकदिवसीय क्रिकेट इतिहासकै सर्वाधिक ठूलो साझेदारी गर्न सफल भए । दुवै ब्याट्सम्यानले तेस्रो विकेटका लागि एक सय ३३ रनको शतकीय साझेदारी गरेका हुन् । एकदिवसीय खेलमा नेपाली ब्याट्सम्यानले कुनै पनि विकेटका लागि उच्च साझेदारी गरेको यो नै पहिलोपटक हो । रोहित र कुशलले नेपाललाई ५३–२ बाट १८६–३ को बलियो स्थितिमा राखेका थिए । यी दुईबीचको साझेदारीलाई ट्रम्पेम्यानले इनिङ्सको ३३.१ ओभरमा तोडे । 

यसअघि नेपालबाट एकदिवसीय खेलमा दीपेन्द्रसिंह ऐरी र देव खनालले सन् २०२२ मा एक सय २९ रनको उच्चतम साझेदारी गरेका थिए । रोहितले आफ्नो नाममा रेकर्ड राख्दा दुईपटक जीवनदान पाएका थिए । २०.५औँ ओभरमा रोहित व्यक्तिगत २७ रनमा जीवनदान पाएका थिए । त्यतिवेला नामिबियाका खेलाडीले रोहितको सहज क्याच छाडेका थिए । रोहितले फेरि ३९ रनमा अर्को जीवनदान पाए । नामिबियाका हयान्डी लरेन्सले रोहितको क्याच ड्रप गरेका थिए । 

सन्दीपको करिअरकै खर्चिलो स्पेल
नेपाली क्रिकेट टोलीमा पूर्वकप्तान तथा स्पिनर सन्दीप लामिछाने पाँच महिनापछि फर्किए । नामिबियाविरुद्धको खेलमा तीन विकेट आफ्नो नाममा लेखाए पनि सन्दीपले अर्को खराब रेकर्ड राखेका छन् । नामिबियासँगको खेलमा तीन विकेट लिएका सन्दीपले आफ्नो एकदिवसीय खेलकै सर्वाधिक बढी रन खर्चिन पुगे । सन्दीपले नामिबियाविरुद्ध १० ओभरमा ६६ रन खर्चेर ३ विकेट हात पारेका हुन् । यसअघि सन्दीपले सन् २०२० फेब्रुअरीमा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै ओमानविरुद्ध विकेटविहीन हुँदा ६५ रन खर्चेका थिए । 

बलात्कार अभियोग सामना गरिरहेका सन्दीप २० लाख धरौटीमा रिहा भएका थिए । राष्ट्रिय टोलीमा स्थान बनाएका सन्दीपले इनिङ्सको ११औँ ओभरमा बलिङ गर्न अवसर पाए । उनले आफ्नो दोस्रो बलमै नामिबियाका कार्ल ब्रिस्केनस्टकलाई १३ रनमा बोल्ड आउट गर्न सफल भए । विकेट लिएपछि उनी निकै भावुक देखिए । नेपाली खेलाडीसँग आफ्नो खुसी उनले साटे । उनले ४९औँ ओभरमा १२ रन खर्चेर २ विकेट लिएका थिए । सन् २०२२ मार्चमा सन्दीपले पपुवा न्युगिनीविरुद्ध १० ओभरमा ६२ रन खर्चेर एक विकेट लिएका थिए । २०१९ मा युएईविरुद्ध उनले १० ओभरमा ५७ रन खर्चेर एक विकेट हात पारेका थिए । 

सुझावित समाचार