मल अभाव अझै उस्तै, कृषक सधैँ मारमा

मंगलबार, २ फागुन, २०७९
डिजिटल संस्करण
मल अभाव अझै उस्तै, कृषक सधैँ मारमा

खाँदबारी–४ जालपादेवीथानमा राषायनिक मल भाग लगाइँदै ।

संखुवासभाको खाँदबारी नगरपालिका– ४ का कर्णबहादुर गुरुङले करिब दुई मुरी बढीकाे खेती गर्दै आएका छन् । गत वर्ष रासायनिक मल हाल्न नपाउँदा त्यही पनि उत्पादन राम्रो भएन । यो वर्ष पनि अहिलेसम्म मल नपाउँदा उनी चिन्तित बनेका छन् ।

हिउँदे बाली गहुँ, तोरीलगायतमा रासायनिक मल हाल्ने वेला भइसक्दा पनि अहिलेसम्म डिएपी र युरिया मलको अभाव पूर्ति भएको छैन । ‘मकै छर्ने वेला पनि हुन लागिसक्यो । अहिलेसम्म मल पाएको छैन,’ कर्णबहादुरले भने, ‘बर्खाको लागि पनि मल जोहो गर्नुपर्छ ।’

उनीजस्तै खाँदबारी– ८ का देवेन्द्र खत्रीले पाँच रोपनी क्षेत्रफलमा तोरी खेती गरेका छन् । मल हाल्न नपाउँदा तोरीको बोट नै नआएको उनको गुनासो छ । उनले भने, ‘मल भए पो बोट आउँथ्यो, उत्पादन दिन्छ भन्ने आशा गर्नु । बोट नै छैन के आस गर्नु ! बिउसमेत नासियोजस्तो छ ।’

उनको जस्तै पीडा स्थानीय शेरबहादुर श्रेष्ठको पनि छ । मल नहाले उत्पादन नै नहुने अवस्था आइसकेको भन्दै उनले भने, ‘खेतबारीमा रासायनिक मल हाल्ने बानी परिसकेको छ । डिएपी र युरिया नहालेसम्म उत्पादन नै हुँदैन  ।’ मल नहुँदा हिउँदे बालीनालीले उत्पादन दिने छाँटकाँट छैन । बर्खाको लागि समेत रासायनिक मल जोहो गर्न नसकिने देखिएपछि कृषक चिन्तामा छन्  ।

जिल्लाका पाँच नगरपालिका र पाँच गाउँपालिका गरी १० स्थानीय तहमा रासायनिक मल नपाएको भन्दै कृषकले व्यापक गुनासो पोखेका छन् । खाँदबारी– ४ मा रहेको संखुवासभा जडीबुटी सहकारीले रासायनिक मल वितरण गर्ने अनुमति पाएको छ । तर, मल कम आएपछि एक घरधुरी बराबर चार–पाँच केजी मात्र पाएको स्थानीय सुनील गुरुङले बताए । ‘मलाई मात्रै दुई सय केजी डिएपी र युरिया आवश्यक छ । तर, भागमा चार केजी पर्याे,’ उनले भने, ‘४ नम्बर वडामा ८४ बोरा (४२ सय केजी) मल आयो । वडाभित्रका २५ वटा टोलमा छुट्याउँदा जालपादेवीथान टोलको भागमा तीन बोरा (१५० केजी) आयो । टोलका ३५–३६ घरधुरीलाई वितरण गर्दा प्रतिपरिवार चार–पाँच केजी मात्र पर्याे ।’

जिल्लामा कोटाअनुसारको मल मात्र आउने भएकाले कृषकलाई आवश्यकताअनुसार मल पुग्दैन । कृषकको मागको एक भाग मात्रै मल आउने गरेको सहकारी सञ्चालकहरू बताउँछन् ।

See More On

सुझावित समाचार