विद्युतको पोल नै नहटाई सडक कालोपत्रे

मंगलबार, २ फागुन, २०७९
डिजिटल संस्करण

कञ्चनपुरको महेन्द्रनगर बजारमा विद्युतका पोल नहटाई सडक कालोपत्रे भइरहेको छ । भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर मूल बजार क्षेत्रमा सडक निर्माण कम्पनी जेडआइसिसी लामा जेभीले सडकको बीचमा रहेका पोलसमेत नहटाई सडक कालोपत्रे गरिरहेको छ ।

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा पाँच गल्लीसहितको सडक स्तरोन्नति भइरहेको छ । तर, त्यसमा ठेकेदार कम्पनीको लापरबाही देखिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोड्ने नमुना सडक, फुटपाथ, सौर्यबत्तीसहितको महेन्द्रनगर मझगाउँ सडकखण्डमा विद्युतका पोल नहटाएरै ठेकेदारले कालोपत्रे गरिरहेको छ ।

१० देखि १५ मिटर चौडाइका १४ किलोमिटर सडक निर्माणका लागि ८८ करोड रुपैयाँमा निर्माण सम्झौता भएको हो । क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ धनगढीले निर्माण कम्पनीसँग ३१ जेठ ०७९ मा काम सक्नुपर्ने गरी ३ असार ०७७ मा सम्झौता गरेको थियो । पहिलोपटक म्याद सकिएर दोस्रोपटक ६ महिनाका लागि थप गरे पनि ठेकेदारले अझै काम सम्पन्न गर्न सकेको छैन । पहिलोपटक थपिएको समय ०७९ पुसमा सकिइसकेको छ । दोस्रोपटकका लागि म्याद थप माग गरेको ठेकेदार कम्पनीले काममा भने लापरबाही गरिरहेको छ ।

०७७ मंसिर तेस्रो साता कञ्चनपुर क्षेत्र ३ का प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्टले उक्त सडकको शिलान्यास गरेका थिए । शिलान्यास गर्दै तत्कालीन संसद् भट्टले गुणस्तरीय काम गर्न अनुरोध गरेका थिए । तर, निर्माण कम्पनीले सडकको बीचमा रहेका विद्युतीय पोलसमेत नहटाई काम गरेपछि स्थानीयवासीले विरोध गरेका छन् । ‘अहिले विद्युतका पोल नहटाएरै कालोपत्रे हुन्छ,’ स्थानीय पुष्कर भट्टले भने, ‘पछि हटाउनैपर्छ, त्यतिवेला खर्च पनि थपिन्छ ।’ 

स्थानीय एवं निर्माण व्यवसायी संघ कञ्चनपुरका पूर्वअध्यक्ष गजेन्द्रबहादुर चन्दले बीचसडकमा भएका विद्युतका पोल नहटाएरै कालोपत्रे गर्दा एकातिर सवारी दुर्घटना बढ्ने र अर्कातिर दीर्घकालीन आर्थिक नोक्सानी हुने बताए । ‘कुनै पनि विकास हुँदा साझेदारी निकायबीच सुरुवाती चरणमै समन्वय हुनपर्थ्यो,’ उनले भने ।

तर, निर्माण कम्पनी जेडआइसिसी लामा जेभीका इन्जिनियर दीपक डिसी भने नेपाल विद्युत् प्राधिकरणको अवरोधले बाध्य भएर त्यसै सडक कालोपत्रे गर्न लागिएको बताए । ‘हाम्रो स्टिमेटमा नाै मिटर अग्लो विद्युतका पोल हाल्नुपर्ने थियो,’ उनले भने, ‘अहिले विद्युतले १२ मिटर हाल्नुपर्ने अडान राखेको छ । तार पनि आधुनिक हाल्नुपर्ने अडानले यस्तो समस्या आएको हो ।’

उक्त सडक निर्माण अनुगमनको जिम्मा पाएका भीमदत्त नगरपालिकाका इन्जिनियर गोरखबहादुर सिंहले प्राधिकरणको अडानका कारण समस्या भइरहेको बताए । ‘ठेक्का सम्झौता र स्टमेटमा नाै मिटर लामो विद्युतको पोल हाल्नुपर्ने रहेछ,’ इन्जिनियर सिंहले भने, ‘अहिले विद्युतले १२ मिटर लामो पोल र नयाँ तार हाल्नुपर्ने अडानले विद्युतका पोल हटाउन नमानेपछि त्यसै कालोपत्रे गरिएको छ ।’ म्याद थप र आयोजनाको काम पुनर्विचारका लागि फाइल मन्त्रालयमा पेस गरिएको उनले बताए । आयोजनाको रिभ्युपछि निर्माण कम्पनीले विद्युतका पोल हटाएर सडक निर्माण गर्ने उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तले विद्युतका पोल हटाउने विषयमा प्राधिकरणबाट कुनै असहयोग नभएको दाबी गरे । ‘हामीले सडक निर्माणमा असहयोग गरेका छैनौँ,’ उनले भने, ‘असोज महिनामै स्टमेट दिइसकेका छौँ ।’ ११ हजार हाइटेन्सन लाइनमा ११ मिटर र घर प्रयोजनका लागि लाइनमा नाै मिटरका विद्युतका पोल राख्नुपर्ने स्टेमेट दिए पनि निर्माण कम्पनीले त्यस्तो नगरेको उनको भनाइ छ । ‘वितरण केन्द्रले नै पोल हटाउँदा नेपाल विद्युत् प्राधिकरणमा पैसा जम्मा गर्नुपर्छ,’ उनले भने, ‘होइन भने उहाँहरू आफैँले हाल्नुपर्छ ।’

महेन्द्रनगरमा विद्युतका पोल नहटाएरै कालोपत्रे भइरहेको विषयमा बुझ्न खोज्दा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ धनगढीका इन्जिनियर सञ्जयकुमार शाह पन्छिन खोजे । यस विषयमा आफूलाई केही थाहा नभएको भन्दै विद्युत् प्राधिकरणलाई नै सोध्न भनी गैरजिम्मेवार जवाफ दिए ।

भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखकले प्राधिकरण र टेलिकमलाई विद्युतका पोल हटाएर सहयोग गर्न पटकपटक आग्रह गरिएको बताइन् । ‘हामीले विकास निर्माणमा सरकारी सार्वजनिक निकायसँग संयुक्त छलफल नै गरेर अनुरोध गरेका छौँ,’ उनले भनिन्, ‘लामो समयसम्म त विद्युतले पोल नै हटाइदिएन । त्यसपछि विद्युत्, खानेपानी, टेलिकमसँग संयुक्त छलफल गरेर हटाउने प्रतिबद्धता जाहेर गराएका थियौँ ।’

सुझावित समाचार