आफूखुसी शुल्क उठाएपछि चक्रवर्ती कलेजका विद्यार्थी आन्दोलित, विद्यार्थीलाई बर्खास्त गर्ने सञ्चालकको धम्की

सोमबार, १ फागुन, २०७९
डिजिटल संस्करण

जथभावी शुल्क लिएको भन्दै चक्रवर्ती हबी एजुकेसन एकेडेमी (कलेज अफ ल) का विद्यार्थी आन्दोलित बनेका छन् । उनीहरूले अनुचित शुल्कवृद्धि फिर्ता हुनुपर्ने तथा पठनपाठन सुचारु हुनुपर्ने माग गरेका छन् । 

अघिल्लो वर्ष बिएएलएलबीको शुल्क सात लाख रहेकोमा यस वर्ष साढे १० लाख रुपैयाँभन्दा बढी बनाइएको गुनासो विद्यार्थीले गरेका छन् । साथै, हरेक महिनाको तीन गतेभित्र नै आगामी महिनाको मासिक शुल्क बुझाउन कलेज प्रशासनले सूचना निकालेपछि विद्यार्थी अझै आक्रोशित बनेका हुन् । 

‘कि त किस्तामा शुल्क लिनुपर्यो अन्यथा मासिक लिने भए महिनाको अन्तिममा लिए भयो । जहाँ पनि उपभोग गरिसकेपछि पो शुल्क तिर्ने हो । यहाँ पहिले नै तिर्नुपर्ने, नतिरे १५ प्रतिशत जरिवाना लिइरहेको छ,’ विद्यार्थीमध्येका एक धरमराज यादव भन्छन् । हाल पहिलो वर्षमा भर्ना लिएका ३ सयमध्ये दुई सयभन्दा बढी विद्यार्थी आन्दोलित छन् । 

पूर्वाञ्चल विश्वविद्यालयसँगको सम्बन्धनमा चलेको उक्त कलेजले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्नेमा १० जनालाई मात्र छात्रवृत्ति दिइएको आरोप छ ।

कलेज प्रशासनले परीक्षाका समयमा पुस्तकालयबाट पुस्तक लान नदिने, समयमा शिक्षक उपस्थित नभएको बताउँदा उल्टै धम्क्याउने गरेको नाम खुलाउन नचाहने एक विद्यार्थीले बताए । 

‘केही कम्प्लेन गर्यो कि एनक्यु (नट क्वालिफाइड) लाइदिने, रेस्टिकेट गरिदिने धम्की दिनुहुन्छ । तिमीहरू राजनीति गर्न कलेज आएको हो भन्नुहुन्छ । हामी पढ्न आएको हो, कम्तीमा पढ्ने वातावरण त कलेजले बनाइदिनुपर्यो नि !’ ती विद्यार्थीले भने । 

विद्यार्थीहरूले ७ माघमा अतिरिक्त शुल्क (फाइन) किन लिइएको भन्ने विषयमा पत्र बुझाएका थिए । तर, कलेज प्रशासनले जवाफ दिएन । रबैया निरन्तर भएपछि आफूहरूले २६ माघदेखि कलेजमै धर्ना दिएको विद्यार्थी बताउँछन् । 

पहिलो वर्षमा अध्ययनरत यादवले भने, ‘पत्रलाई बेवास्ता गरेपछि हामी प्रशासनविरुद्ध आन्दोलनमा गएका हौँ । विद्यार्थीको मागलाई राजनीतिक भन्न पाइँदैन । कलेज सञ्चालकले हामीलाई बोल्नै नमिल्ने शब्द प्रयोग गरेर गालीगलौज गर्नुभयो । मंगलबार छलफल गर्दै छौँ, त्यहाँबाट पनि निकास निस्किएन भने हामी थप कार्यक्रम गर्छौँ ।’

सुझावित समाचार