जिल्लाको वृन्दावन नगरपालिकामा मेयर पक्ष र अन्य स्थानीय राजनीतिक दलका कार्यकर्ताबीच दैनिक झडप हुने गरेको छ।
जिल्लाको वृन्दावन नगरपालिकाको दर्ता चलानी पुस्तिका नै मेयरले बोकेर हिँड्ने गरेका कारण नगरपालिकामा व्यापक आर्थिक अनियमिता हुने गरेको स्थानीयले बताएका छन्।
नगरपालिकामा आर्थिक अनियमिता बढ्दै गएको भन्दै सो नगरपालिकाका नेकपा एमाले, कांग्रेस, माओवादी र जसपाले विरोध जनाएपछि सो नगरपालिकामा दैनिकजसो दोहोरो झडप हुने गरेको हो।
पाँच महिनादेखि नगरप्रमुख विनोदप्रसाद कुर्मी र प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले बागमती खोला ठेक्का नलगाएर आफ्ना मान्छेलाई अमानतमा पुर्जी काट्न लगाएपछि विवाद सुरु भएको हो।

मेयर कुर्मी र कार्यालय प्रमुख भुजेलकै मिलेमतोमा खोलाबाट नदीजन्य वस्तु उत्खननमा अनियमिता गरेकोले नगरपालिकाको दर्ता चलानी नै मेयर आफ्नै झोलामा बोकेर हिँड्ने गरेको, विश्रामपुरमा रहेको नगरपालिकाको कार्यालयमा नबसी हर्साहस्थित मेयरकै घरबाट चेक काट्ने गरेको कांग्रेसका नेता राम स्नेही यादवको आरोप छ।
सोही विषयमा शनिबार र आइतबार वृन्दावन नगरपालिकामा झडप हुँदा आधा दर्जन व्यक्ति घाइते भएका थिए। नदीजन्य वस्तुको कर उठाउने ठाउँमा दोहोरो झडप भएपछि मेयर कुर्मीकै नेतृत्वमा चन्द्रनिगाहपुर–गौर सडकखण्डमा आइतबार केही समय चक्काजामसमेत भएको थियो।
नगरप्रमुख कुर्मीले मनपरी गरेको भन्दै स्थानीयले कर उठाउन बनाइएको घरमा समेत आगजनी गरेका थिए। नदीबाट निकासी हुने वस्तुको कर उठाउने विषयमा शनिबार अपराह्न दुबै पक्षबीच झडप भएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए।
शनिबार मेयर पक्षका केही व्यक्ति घाइते भएपछि आइतबार साँझ मेयर कुर्मीका व्यक्तिले एमाले नेता पेमशंकर यादवको छोरालाई विद्यालयबाट फर्किँदै गर्दा कुटपिट गरेर खुट्टा भाँचिदिएका छन्।
आइतबार वृन्दावन नगरपालिका– ३ मा बस्ने एमाले नेता यादवका १६ वर्षीय छोरा चन्दनकुमारलाई नगरप्रमुख कुर्मीका छोरा–भतिजा तथा आफन्त मिलेर हर्षाहाचोकमा ज्यान लिने उद्देश्यले कुटपिट गरेको यादवको आरोप छ।
चन्द्रपुर– १० मा रहेका एभरग्रिन माविका कक्षा १० मा अध्ययनरत चन्दनलाई विद्यालयमै पुगेर दुईजना अपरिचित व्यक्तिले ‘तिमीलाई तिम्रो बुबाले भेट्न बोलाउनुभएको छ’ भन्दै विद्यालयबाट मोटरसाइकलमा चढाएर हर्षाहाचोकमा ल्याएर सांघातिक आक्रमण गरेको स्थानीयको भनाइ छ।

विद्यार्थीलाई विद्यालयबाट अपहरण शैलीमा लगेर गरिएको सामूहिक आक्रमणको नेपाल विद्यार्थी संघ, अनेरास्वियुलगायत विभिन्न विद्यार्थी संगठनले विरोध गर्दै दोषीउपर कडा कारबाहीको माग गरेका छन्।
सो नगरपालिकामा भ्रष्टाचारको विषयमा दैनिकजसो मेयर पक्ष र अन्य पार्टीका कार्यकर्ताबीच झडप हुन थालेपछि जिल्ला प्रहरी कार्यालय रौतहटले वृन्दावन नगर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलकै मिलेमतोमा अमानतमा निकासीको कर काट्ने काम भइरहेको भन्दै उनलाई कारबाहीको माग गरिएको छ।
वृन्दवन नगरपालिकाले तीन महिनाअघि बागमती र चाँदी नदीबाट गिटीजन्य वस्तु निकासीका लागि तीन करोडमाथि मूल्य राखेर ठेक्का आह्वान गरेको थियो, तर मूल्य बढी भएको भन्दै कसैले पनि त्यो ठेक्का सकार गरेनन्। त्यसपछि नगरप्रमुखले आफ्ना मानिस लगाएर अमानतमा कर उठाउन खटाएको स्थानीयको आरोप छ।
मेयर कुर्मी र कार्यालय प्रमुख भुजेलकै कारण नगरपालिका भ्रष्टाचारको दलदलमा फस्दै गएको उपमेयर संगीतादेवी रामले बताइन्। दुवैजना नेकपा एकीकृत समाजवादीबाट चुनाव जितेका हुन्।
तस्बिर : अशाेक पहाडी/नयाँ पत्रिका