चितवन राष्ट्रिय निकुञ्जको हरेक क्षेत्रमा एउटै नीति–नियम लागू गरिनुपर्ने अमलटारीका पर्यटन व्यवसायीले माग गरेका छन् । निकुञ्ज पश्चिमतर्फको प्रवेशद्वार अमलटारी घाटबाट जिप सफारीको अनुमति दिन ढिलाइ गरिदिँदा पर्यटकहरू खिन्न भएर फर्कन बाध्य भएको टेम्पल टाइगर ग्रिन जंगल रिसोर्टका सञ्चालक वसन्त मिश्रले गुनासो पोखे । यस्तै, निकुञ्जमा सफारी जिप राख्ने सम्बन्धमा पनि निकुञ्जका कर्मचारीले भेदभाव गरेको उनको भनाइ छ । ‘जंगलमा पर्यटक घुमाउन गाडी नराखी हुँदैन, तर हामीले १७ भदौमा अनुमति मागेकोमा १० माघमा मात्रै पायौँ,’ उनले भने, ‘पर्यटकका लागि निकुञ्जका सबै प्रवेशद्वार एकैचोटि खुला गरिनुपर्छ, कुनै क्षेत्रमा एकथरी, कुनै क्षेत्रमा अर्कोथरी हुनुहुँदैन ।’
कर्मचारीको लहडमा कसैसँग चित्त नबुझे निकुञ्जको प्रवेशद्वार खुला गर्न ढिला गरिदिने, निकुञ्जमा जिप राख्न नदिने र अन्य सुविधाबाट पनि वञ्चित गर्ने परिपाटी हटाउनुपर्ने उनको भनाइ छ । अमलटारीमा नारायणी नदी तरेर निकुञ्ज प्रवेश गर्नुपर्ने हुँदा जिप निकुञ्ज क्षेत्रमै राख्नुपर्ने हुन्छ । निकुञ्जभित्र सञ्चालन हुने सफारी गाडीका बारेमा पनि स्पष्ट नीति बनाउनुपर्ने उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्जका मुख्य प्रवेद्वारहरू सौराहा, मेघौली, कसरा, अमलटारीलगायत हुन्, जहाँबाट पर्यटक जिपमा निकुञ्ज प्रवेश गर्न सक्छन् । सौराहा, कसरालगायत क्षेत्रबाट निकुञ्जमा सफारी खुला भएको पाँच महिनासम्म पनि अमलटारी प्रवेशद्वार खुला नगर्दा यहाँका होटेल तथा रिसोर्ट मारमा परेका हुन् । ‘प्रवेशद्वार खुल्न र जिप सफारीको अनुमति पाउन ढिलो हुँदा शरद् सिजनमा आएका पर्यटकले दुःख मनाउँदै फर्किनुप¥यो,’ मिश्रले भने, ‘निकुञ्ज बन्द गर्ने निश्चित समय तोकिएझैँ निकुञ्ज खुला हुने समयमा पनि एकरूपता हुनुपर्छ ।’
निकुञ्ज पूर्णतः संरक्षणमा आधारित रहेकाले ‘मास टुरिजम’मा जान सकिँदैन । पर्यावरण र पर्यटनलाई सँगसँगै अगाडि बढाउन धेरै खर्च गर्न सक्ने ‘क्वालिटी टुरिजम’ प्रवद्र्धनमै जानुपर्छ । कन्जरभेसन र टुरिजमबारे राम्रोसँग बुझेको व्यक्ति निकुञ्जको प्रमुख भएर आएमा पर्या–पर्यटन प्रवद्र्धनमा ठूलो सघाउ पुग्ने मिश्रको बुझाइ छ । उनी भन्छन्, ‘निजी क्षेत्रको ठूलो लगानी र दशकौँको प्रयासबाट विश्वमै वन्यजन्तु पर्यटनको एक प्रमुख गन्तव्यका रूपमा स्थापित चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सञ्चालित होटेल तथा रिसोर्टहरूले लामो समयदेखि भोग्दै आएको मुख्य समस्या भनेकै निकुञ्ज कार्यालयको असमान व्यवहार हो ।’
भैरहवा र पोखरामा बनेका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल, चार लेनमा स्तरोन्नति हुँदै गरेको राजमार्ग, राष्ट्रिय निकुञ्जलगायतले यस क्षेत्रको पर्यटनमा योगदान पुग्ने मिश्रले बताए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी दिनमा पर्यटनका लागि ‘रिजनल हब’मा विस्तार हुन सक्ने उनको भनाइ छ ।
‘अहिले काठमाडौं–पोखरा–चितवन पर्यटनको गोल्डेन ट्र्यांगल बनेको छ,’ उनले भने, ‘अब लुम्बिनी, चितवन र पोखरालाई जोडेर मिनी गोल्डेन ट्र्यांगल बनाउन सकिन्छ ।’ यस्तै, रामग्राम, मौलाकाली, त्रिवेणीलाई पनि जोड्न सकिने हुँदा पश्चिम चितवन (अमलटारीसमेत)को भविष्य अत्यन्तै राम्रो छ । त्यस क्षेत्रमा अझै भिडभाड नभएको हुँदा शान्त वातावरण खोज्नेलाई अमलटारी क्षेत्र उपयुक्त हुन सक्छ ।