कास्कीको मादी गाउँपालिका–८ मा पर्ने नागिधार र पाखुरीकोट, वडा नं १० मा पर्ने भाचोक गाउँको संगमस्थल सोेँथर बेँसीमा कृषि र पर्यटनको विकासको लक्ष्यका साथ सोंथर बेँसी टारी बजार मेला आयोजना गरिने भएको छ।
‘सोंथर बेँसी तथा त्यस क्षेत्रको प्रवर्द्धन, कृषि र पर्यटन’ भन्ने मूल नाराका साथ सोंथर बेँसी विकास समितिको आयोजनामा हुने मेला फागुन १ देखि ३ गतेसम्म चल्ने समितिका अध्यक्ष ओमप्रकाश गुरुङले जानकारी दिए।
मेलास्थलको व्यवस्थापन, प्रचारप्रसार, अर्थ व्यवस्थापनलगायतका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै उहाँले उद्घाटन समारोहमा विभिन्न स्थानबाट सांस्कृतिक झाँकी प्रदर्शन गरिने बताउनुभयो । करिब पाँच हजारजनाले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा विशेषतः सोंथर बेँसीलगायत त्यस आसपासमा उत्पादित कृषिजन्य वस्तु तथा पशुचौपायहरूको प्रदर्शनी एवं बिक्री गरिनेछ।
मेलामा खेलकुदतर्फ वडास्तरीय भलिबल प्रतियोगिता, खुल्ला छेलो/ठेलो प्रतियोगिता, रसी तान्ने प्रतियोगिता, सांस्कृतिकतर्फ खुला सामूहिक नृत्य प्रतियोगिता, खुला दोहोरी प्रतियोगिता, खुला भजन प्रतियोगिता साथै स्थानीय युवा क्लबहरूको ठेटार नाच एवं चर्चित कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ ।
भलिबल प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई क्रमशः नगद ४० हजार र ३० हजार नगदसहित मेडल र ट्रफी प्रदान गरिनेछ भने मादी गाउँपालिकाभित्रका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीबीच सोंथर बेँसी विषयक वक्तृत्वकला प्रतियोगिता पनि गरिनेछ।
मेलाकै अवसरमा नेपाल पर्यटन बोर्डसँग अन्तर्क्रिया कार्यक्रमसमेत गरिने अध्यक्ष गुरुङले जानकारी दिए। आजभन्दा साढे तीन दशकअघि निकै प्रख्यात यस मेलाको मुख्य प्रायोजन मादी गाउँपालिका कार्यालयले गरेको छ। सोंथर बेँसीमा हाल फार्महाउस एवं केही घरबाससमेत सञ्चालनमा छन्। फार्महाउसमा बसेर नजिकै बार्दी खोलामा पौडी खेल्दै दुवाली थुनेर असला माछा मार्दै आनन्द लिन सकिन्छ।
त्यस्तै, नजिकै टारी खेतहरूमा गोठहरू पनि रहेकाले गोठमा खिर खाने जस्ता अनुभव लिनेसमेत व्यवस्था छ। रासस