राष्ट्रपतिको बारेमा खुला हृदयले सोच्नु हाम्रो जिम्मेवारी हो : उपप्रधानमन्त्री श्रेष्ठ

आइतबार, २९ माघ, २०७९
डिजिटल संस्करण

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिका बारेमा खुला हृदयले सोच्नुपर्ने बताएका छन्। गृहजिल्ला गोरखामा आइतबार पत्रकारहरूसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन्।

राष्ट्रपतिजस्तो गरिमामय उच्च पदको बारेमा सबैको सहमतिमा निष्कर्षमा पुग्नु उपयुक्त हुने बताउँदै उनले भने, ‘सुरुमा विश्वासको मत लिने तयारी गर्दै गर्दा कांग्रेसलगायत अन्य दलको समर्थन थिएन तर विश्वासको मत लिँदा हामी समर्थन गर्छौं भनिसकेपछि त्यसले जे सहमतिको, सहकार्यको माग गर्छ, त्यसबारेमा खुला हृदयले सोच्नु, व्यापक दायरामा सोच्नु हाम्रो पनि त जिम्मेवारी हो।’

कुनै एउटा पार्टीको पक्षमा भागबन्डा गर्नु वा एक–दुईवटा पार्टी बसेर निर्णय गर्नुभन्दा, राष्ट्रपति जोसुकै भए पनि सबैको सहमतिमा हुँदा उपयुक्त हुने उनको भनाइ छ। ‘संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रको रक्षा हुनुपर्यो । त्यसमाथि कहीँ कतैबाट प्रहार हुनुभएन, त्यसलाई संस्थागत गर्ने संविधानको रक्षा हुनुपर्यो’, उनले भने, ‘सामाजिक न्यायसहितको समृद्धिको उद्देश्यमा बाधा व्यवधान हुनुभएन, यो हाम्रो बटमलाइन हो। यसले नै हाम्रो सबै कुरा निर्धारण गर्छ। तर, हामीले अहिलेको समीकरणलाई हाम्रो इच्छाले यताउता गर्ने भनेर सोच्दैनौँ।’

कर्णाली प्रदेशमा मूल पार्टीको असहमतिले नभई नागरिक उन्मुक्ति पार्टीको अनुपस्थितिका कारण मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेको प्रस्ट पारे।

सुझावित समाचार