महामहिमको सवारीमा कहिलेसम्म सास्ती ?

आइतबार, २९ माघ, २०७९
डिजिटल संस्करण

अब पनि नेपालमा राजाको शासन कायम रहनु भनेको सेतो हात्ती पारेसरह हरेक कोणबाट महँगो हुन्छ भन्दै नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट १५ जेठ ०६५ मा यो व्यवस्थाको अन्त्य गरिएको थियो । दुई सय ४० वर्ष लामो विरासत बोकेको शाहवंशीय राजसंस्था जनताको इच्छामुताबिक राजगद्दी परित्याग गरी आमनागरिकसरह स्वदेशमै जीवन व्यतीत गर्न राजी भएपछि यो सम्भव भएको हो । 

राष्ट्रपति देशको प्रतीक हो, चिनारी हो, यसको आफ्नै महत्व छ, सोहीअनुसार यसको व्यवस्थापन हुनुपर्छ, उनीहरूको व्यवहार र जीवनशैलीबाट आमसर्वसाधारणले गौरवको अनुभूति गर्न सकून् । 

जसंस्थाको अन्त्यसँगै जनताका छोराछोरी राष्ट्रप्रमुख (राष्ट्रपति) बन्ने संवैधानिक व्यवस्थामै जनताले राजाबाट बेलाबेलामा पाइने गरेका सास्तीको सुखद अन्त्यको परिकल्पना गरिएको थियो । सार्वभौम जनताबाट निर्वाचित जनप्रतिनिधिबाट चुनिएको व्यक्ति राष्ट्रपति हुने भएकाले यस्तो परिकल्पना अस्वाभाविक पनि थिएन । सोही व्यवस्था र परिकल्पनाअनुसार ८ साउन ०६५ मा डा. रामवरण यादवले नेपालको प्रथम राष्ट्रपतिको रूपमा शपथ लिएका थिए । उनको कार्यकाल सकिएपछि विद्यादेवी भण्डारी दुई कार्यकाल समाप्त भएर यही फागुनको अन्त्यमा राष्ट्रपतिको भूमिकाबाट बाहिरिँदै छिन् र उनलाई यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपतीय चुनावमा विजयी उम्मेदवारले विस्थापन गर्दै छन् । 

जनताको छोराछोरी नै देशको सबैभन्दा उच्च पदमा पुग्ने व्यवस्था हुनु भनेको नेपाली जनताको सबैभन्दा ठूलो सम्मान हो, यसमा कसैको पनि दुईमत सायदै रहला । भोलि पनि जनताले पत्याएको र रुचाएको व्यक्तिले नै सो पद प्राप्त गर्न सक्ने भएकाले राष्ट्रपति पद र गरिमाको नेपाली जनताले उच्च सम्मान गर्नुपर्छ र गर्ने पनि छन् । 

तर, राष्ट्रिय उत्सवहरू, संवैधानिक व्यवस्थाअनुसार कतिपय औपचारिक सभा–समारोहमा राष्ट्रपतिबाट हुने गरेका सवारीहरू के नेपाली जनताले संवैधानिक व्यवस्थामै परिकल्पना गरिएअनुसारका सुखद अनुभूति गरिन लायक बन्ने गरेका छन् त ? किन उनीहरूबाट हुने गरेका सवारी राजाहरूकै सवारीको झल्को हुने गरी तामझामपूर्ण हुने गरेका हुन् ? जनस्तरबाट प्रश्न उठ्न थालेका छन् । यसको अर्थ राष्ट्रपतिबाट हुने यसप्रकारका सवारी जनसाधारणकै स्तरको हुनुपर्छ भन्ने अवश्य होइन । उनीहरूको व्यवहार, जीवनशैली र सवारी सबैमा देश झल्किनुपर्छ । राष्ट्रपति देशको प्रतीक हो, चिनारी हो, यसको आफ्नै महत्व छ, सोहीअनुसार यसको व्यवस्थापन हुनुपर्छ, उनीहरूको व्यवहार र जीवनशैलीबाट आमसर्वसाधारणले गौरवको अनुभूति गर्न सकून् । 

राष्ट्रिय उत्सवहरू, संवैधानिक व्यवस्थाअनुसार कतिपय औपचारिक सभा–समारोहमा राष्ट्रपतिबाट हुने गरेका सवारी के नेपाली जनताले संवैधानिक व्यवस्थामै परिकल्पना गरिएअनुसारका सुखद अनुभूति गरिन लायक बन्ने गरेका छन् त ? 

राष्ट्रपति आफैँमा व्यक्ति होइन, यो एउटा संस्था हो र यसको व्यवस्थापनको दायित्व सम्बन्धित सरकारी निकायको हो । उनैलाई राष्ट्रपति पदसम्म पु¥याउने जनतालाई निषेध गरेर आफ्नो सवारीका समयमा सडक पूर्ण रूपमा खाली गराउनू भन्ने फर्मान त उनीहरू स्वयंले पक्कै जारी गरेका हुँदैनन् होला । तर, किन प्रत्येकपटकको राष्ट्रपतिको सवारीको व्यवस्थापनमा सम्बन्धित पक्ष चुकेको छ र जनता राष्ट्रपति पदको औचित्यमाथि नै प्रश्न उठाउन बाध्य छन् ? कतै यही विषयलाई निहुँ बनाएर राष्ट्रपति पदप्रति नै जनताले धावा बोलून् भन्ने कुत्सित मनसाय त उनको सवारीको व्यवस्थापन गर्ने निकायले पालेको छैन– शंका गर्ने अवस्था सिर्जना भएको छ ।

जब राष्ट्रपतिको औपचारिक सवारी हुन्छ यसरी सडक खाली गराइँदा त्यस दिन काठमाडौं उपत्यकाको सवारी दिनभरिजसो अस्तव्यस्त रहन्छ । राष्ट्रपतिनिवास शीतलनिवासबाट नयाँ बानेश्वरसम्मको सवारी हुँदा त्यसको असर उत्तरमा बुढानीलकण्ठ, पूर्वमा भक्तपुर, दक्षिणमा एकान्तकुना र पश्चिममा नैकापसम्म हुन्छ । सवारीसाधन प्रयोग गरेर अरू दिन १०–१५ मिनेटमै आफ्नो गन्तव्यमा पुग्नेहरू त्यस दिन चार–पाँच घन्टा जाममा फस्न विवश हुन्छन् । आफ्नो अत्यावश्यकीय काममा जानैपर्ने कतिपय व्यक्तिले राष्ट्रपतिको सवारी हुने सडकमा पैदल यात्रा गरे भने उनीहरूले सुरक्षा निकायकोे लाठी–मुंग्रीको सामना गर्नुपर्ने हुन्छ । आखिर किन यस्तो हुन्छ– जनताको आक्रोश यही हो । 

राष्ट्रपति डा. रामवरण यादवको समयमा पनि जनता यो समस्या भोग्न बाध्य थिए, अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि यो समस्याबाट मुक्ति मिलेको छैन । यी दुवै राष्ट्रपति पनि राजाको सवारीका वेला यस्ता समस्याबाट दुःख पाएकै व्यक्ति हुन् । अनि किन फेरि आफ्नो सवारीबाट जनताले दुःख पाउँछन् भनेर यसको विकल्पबारे उनीहरूको ध्यान जाँदैन ? कि जनता भनेका रैती हुन्, हामीले जे गर्दा पनि हुन्छ भन्ने नै हो ।

जनताले प्रश्न गर्न होइन, आवाज उठाउन थालेका छन्– महामहिम तपाईंहरूको सवारीबाट जाममा फसेर एम्बुलेन्समै बिरामीको ज्यान नजाओस्, परीक्षा दिन हिँडेका भविष्यका कर्णधार विद्यार्थीको परीक्षाको समय बाटोमै व्यतीत नहोस्, विद्यालयबाट फर्किएका सानासाना नानीबाबुहरू भ्यानमै निसास्सिएर दिनभर आलसतालस नबनुन्, सवारीसाधनमा यात्रारत व्यक्तिले समयमा गन्तव्यमा पुग्न नसकेर उसको काम नरोकियोस् ।

त्यसैले सरकारले सम्बन्धित निकायलाई यस्ता सवारीहरूमा जनताले सास्ती नपाउने गरेर व्यवस्थापन गर्न निर्देशन दिनुपर्छ । जनतालाई दुःख र सास्ती नदिईकन व्यवस्थापन गर्छु भनेर जिम्मा लिने निकायले यसको जिम्मेवारी लिनुपर्छ र व्यवस्थापन गर्न नसक्नेलाई कारबाहीको व्यवस्था गर्नुपर्छ ।

यसको समाधानका लागि सम्बन्धित पक्षले वैकल्पिक मार्गहरूको प्रयोग गरेर छोटो–छरितो रूपमा यस्ता सवारीको व्यवस्थापन मिलाउनुपर्छ । यदि त्यसो गर्न सकिँदैन भने हेलिकोप्टर प्रयोग वा राष्ट्रपतिनिवासबाटै प्रत्यक्ष सम्बोधन र प्रसारण जनताका लागि किफायती पर्न जान्छ । सम्बन्धित पक्षले यति मात्रै हेक्का राखे महामहिमहरूको सवारीबाट सर्वसाधारणले सास्ती भोग्नुपर्ने थिएन कि ? 
[email protected]

सुझावित समाचार