भेन्टिलेटर नहुँदा प्युठान अस्पतालको आइसियू अलपत्र

आइतबार, २९ माघ, २०७९
डिजिटल संस्करण

चार भेन्टिलेटरसहित जनशक्तिको माग सुनिएन

कोभिडकालमा ल्याइएका भेन्टिलेटर काठमाडौंसहित विभिन्न अस्पतालमा बेवारिसे बन्दा प्युठानमा भने भेन्टिलेटर अभावमा आइसियू प्रयोगविहीन बनेको छ । भेन्टिलेटर र जनशक्ति अभावमा चार बेडको आइसियू कक्ष अलपत्र बनेको हो । 

सरकारका सम्बन्धित निकायहरूलाई पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले बताइन् । अस्पताल परिसरमा यसअघि रहेको स्वास्थ्य कार्यालय सरेपछि सोही ठाउँमा शल्यक्रिया र आइसियू कक्षहरू निर्माण गरिएको छ ।

यसअघि कोरोनापीडितका लागि उपचारार्थ अस्पतालमा भेन्टिलेटर भनेर ल्याइएका सामान बाइप्याप मात्रै भएको पाइएको छ । १ असोज ०७७ मा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेन्टिलेटर भनेर पाँच थान बाइप्याप पठाएका हुन् । अस्पतालका अधिकृत राजन घिमिरेले श्वास–प्रश्वास सहजताका लागि बाइप्यापले काम गरे पनि आइसियूमा भेन्टिलेटर नै चाहिने बताए । प्युठान जिल्ला अस्पतालमा तीन र भिग्री प्राथमिक स्वास्थ्य केन्द्रमा दुईवटा बाइप्याप राखिएको छ । 

चार बेडको आइसियू कक्ष सञ्चालनका लागि २४ घन्टा खटिने नर्स, स्वास्थ्यकर्मी, जनरल फिजिसियन, मेडिकल अधिकृतजस्ता जनशक्ति आवश्यक पर्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट खनालले बताइन् । हाल उपलब्ध जनशक्ति आकस्मिक र बहिरंग सेवाका लागि मात्रै पनि पर्याप्त हुन सकेको छैन । आइसियूका लागि बिरामीहरू बुटवल, भैरहवा र घोराही पुग्नुपरेको छ ।

डा. प्रमिला खनाल, निमित्त मेडिकल सुपरिटेन्डेन्ट, प्युठान अस्पताल
आइसियूका लागि कक्ष र बेड तयारी हालतमा छन् । तर, भेन्टिलेटर र जनशक्ति नहुँदा सेवा सुरु गर्न सकिएको छैन । चार भेन्टिलेटर र केही जनशक्ति चाहियो भनेर सरकारका सम्बन्धित निकायमा भनिरहेका छौँ । सम्बन्धित निकायका पदाधिकारीसँग अस्पताल अनुगमन, बैठक र छलफलका क्रममा समस्या समाधानका लागि माग गर्दा पाएको आश्वासन कार्यान्वयन भएन ।

सुझावित समाचार