राष्ट्रिय तथ्यांक कार्यालय चार महिनादेखि सचिवविहीन हुँदा रोकियो जनगणनाको अन्तिम प्रकाशन

बिहिबार, २६ माघ, २०७९
डिजिटल संस्करण

राष्ट्रिय तथ्यांक कार्यालय चार महिनादेखि सचिवविहीन हुँदा जनगणनाको नतिजा सार्वजनिकलगायत महत्वपूर्ण काम प्रभावित भएका छन् । नयाँ तथ्यांक ऐन जारीसँगै कार्यालय गत असोजदेखि नेतृत्वविहीन हुँदा कामकारबाहीमा असर परेको छ । प्रधानमन्त्री कार्यालय र कतिपय मन्त्रालयमा आवश्यकताभन्दा धेरै सचिव भए पनि तथ्यांक कार्यालयलाई भने सचिव नपठाएर सरकारले प्रमुखविहीन बनाएको छ । 

साबिकको तथ्यांक ऐन, २०१५ लाई विस्थापित गरी २७ असोजमा सरकारले तथ्यांक ऐन, २०७९ जारी गरेको थियो । ऐनले साबिकमा राष्ट्रिय योजना कार्यालयअन्तर्गत रहेको विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहत ल्याएको थियो । ऐनको दफा २५ मा कार्यालयको प्रशासकीय प्रमुखका रूपमा निजामती सेवाको विशिष्ट श्रेणी (सचिव)को प्रमुख तथ्यांक अधिकारी रहने व्यवस्था गरेको छ । तर, अहिलेसम्म पनि कार्यालयमा सचिव पठाइएको छैन । 

विभागमा अहिले चारजना सहसचिव छन् । सचिव नहुँदा एकजना वरिष्ठ सहसचिव नेविनलाल श्रेष्ठलाई दैनिक कामकाज गर्ने अधिकार मात्र दिइएको छ । निमित्तसमेतको अधिकार दिइएको छैन । कार्यालय प्रमुख नहुँदा महत्वपूर्ण निर्णय प्रभावित भएको छ । 

मनोहर घिमिरे, सूचना अधिकारी राष्ट्रिय तथ्यांक कार्यालय 
जनगणनाको नतिजा पनि लगभग तयार छ । सरकारले सहमति दिनेबित्तिकै सार्वजनिक गर्न सकिने स्थितिमा छौँ । कार्यालय प्रमुख नै नहुँदा त्यहाँबाट गरिनुपर्ने यस्ता धेरै निर्णय प्रभावित भएका छन् । ऐनले गरेको व्यवस्थाबमोजिम जारी गर्नुपर्ने कार्यविधि, निर्देशिकाको प्रक्रिया पनि अघि बढाउन सकिएको छैन । 

जनगणना सार्वजनिक गर्ने कार्यसमेत सचिवको अभावमा कार्यालयले अघि बढाउन सकेको छैन । कार्यालयले जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गरे पनि अन्तिम प्रकाशन बाँकी छ । २५ कात्तिक देखि ९ मंसिर ०७८ सम्म कार्यालयले जनगणना गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । संकलित तथ्यांक विश्लेषण गरेर तयार भएको अन्तिम प्रकाशन अहिले रोकिएको छ । १० वर्षपछि भएको जनगणनाको नतिजा तयार भएर पनि रोकिँदा राम्रो सन्देश नजाने सरोकारवालाहरू बताउँछन् । 

जनगणना मात्र होइन, कार्यालयले कृषि गणनाको काम पनि अघि बढाइरहेको छ । कृषि गणनाको काम गत जेठमै सकिएको छ । अहिले त्यसका तथ्यांक विश्लेषणको काम भइरहेको छ । यसक्रममा सचिवको अभावले गर्नुपर्ने कतिपय निर्णय पनि प्रभावित भएको छ । 

कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले कार्यालय प्रमुख नै नहुँदा कार्यालय प्रमुखका तहबाट गर्नुपर्ने निर्णय प्रभावित भएको बताए । ऐन जारी भएदेखि सचिव नहुँदा ऐनबमोजिम कार्यविधि, निर्देशिका जारी गर्न बाधा पुगेको उनले बताए । जनगणनाको नतिजा लगभग तयार भएको पनि उनले बताए । सँगै कृषि गणनाको काम पनि भइरहेको उनले बताए । 

अहिले ७३ जनाको सचिवको दरबन्दी छ । त्यसमध्ये ७० सचिव कार्यरत छन् । कतिपय मन्त्रालयमा दोहोरो दरबन्दी र दुईजना सचिव छन् । प्रधानमन्त्री कार्यालयमै सातजना सचिवको दरबन्दी छ । त्यति नै सचिव कार्यरत छन् । प्रधानमन्त्री कार्यालयमा रहेको यो सचिव दरबन्दी आवश्यकताभन्दा बढी हो । कतिपय मन्त्रालयमा पनि दुईजना सचिव छन् । 

कार्यालयले ८० भन्दा धेरै प्रश्नहरूका जवाफ लिएर जनगणना संकलन गरेको थियो । सबैजसो तथ्यांकको अन्तिम नतिजा तयार भइसकेको कार्यालयका सूचना अधिकारी घिमिरेले बताए । जनगणनाको प्रारम्भिक तथ्यांक भने कार्यालयले ११ माघ ०७८ मै सार्वजनिक गरेको थियो । प्रारम्भिक तथ्यांकअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ । 

के–के समेटिन्छ जनगणनामा ? 
नेपालमा हरेक १० वर्षको अन्तरमा जनगणना गर्ने व्यवस्था र अभ्यास छ । जनगणना मुख्यतः देशको जनसांख्यिक अवस्थाको यथार्थ थाहा पाउन गरिन्छ । देशको सामाजिक अवस्था, आर्थिक स्थिति, घरपरिवारको अवस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, इन्धनलगायतका आधारभूत आवश्यकतामा नागरिकको पहुँचलगायतका विषय जनगणनामा समेटिन्छन् । बसाइँसराइको स्थिति, देशबाहिर रहेको जनसंख्यालगायतका विवरण पनि जनगणनामा समेटिन्छ । 

सुझावित समाचार