कठिन अभ्यासको परिणाम

बिहिबार, २६ माघ, २०७९
डिजिटल संस्करण

सचिन तेन्दुलकर विश्व क्रिकेटका महानतम सफल हस्ती हुन् भन्नेमा विमति छैन । तर, उनको सफलताका पछाडि उनको प्रतिभा, लगन र कडा मिहिनेतको जति हात छ, उनका गुरु रमाकान्त आचरेकरको हात त्योभन्दा कम छैन । आचरेकर सचिनलाई सुन बनाउन चाहन्थे । उनी कठिन अभ्यासको भट्टीमा सेकीसेकी उनलाई चम्काउन चाहन्थे । 

हरेक दिन सचिनलाई गुरु आचरेकरले कठिन अभ्यास गराउँथे । अभ्यासका क्रममा जब सचिन थकाइले चुर हुन्थे, तब उनी स्टम्पमाथि एक रुपैयाँको सिक्का राखिदिन्थे । कुनै बलरले सचिनलाई आउट गरे भने त्यो सिक्का तिनै बलरले पाउँथे ।

सचिनले त्यो सिक्कालाई झर्नबाट जोगाउन सके भने त्यो सिक्का उनैले पाउँथे । यस्तो सर्तका कारण सिक्का पाउने लोभले गर्दा बलरले पनि सकभर राम्रोसँग बलिङ गरेर सचिनलाई आउट गर्ने कोसिस गर्थे । उता सचिन पनि बलरबाट स्टम्पसँगै सिक्का जोगाएर त्यसलाई आफ्नो बनाउने कोसिस गर्थे । जसले गर्दा उनको ब्याटिङ कला झन्–झन् सुध्रिँदै गयो । सचिन सिक्का राखिएको कुनै पनि स्टम्पलाई ढल्न दिँदैनथे । 

यसरी सिक्काको लोभले सचिनलाई थप राम्रो गर्ने प्रेरणा दियो । जसले गर्दा उनी गुरु आचरेकरको सपनाअनुसार नै महान् खेलाडी बनेर विश्वभर चम्किए । सचिनले त्यतिखेरको अभ्यासका क्रममा जितेका सिक्का अझै साथमा राखिराखेका छन् ।

सुझावित समाचार