सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढामा आज साँझ भारतीय नागरिकले प्रहार गरेको गोली प्रहारबाट एक वृद्ध घाइते भएका छन् ।
साँझ साढे ६ बजेतिर भारतीय नागरिकको गोली प्रहारबाट ६५ वर्षीय महेन्द्र पासवान घाइते भएका हुन् । पासमानको घरमै पसेर ती व्यक्तिले गोली प्रहार गरेको सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।
गोली प्रहारबाट घाइते भएका पासवानलाई उपचारको लागि ल्याउने प्रयास भइरहेको उनले बताए । ‘गोली प्रहार गर्ने व्यक्ति भारतीय जाबेद भन्ने व्यक्ति रहेको बुझिएको छ, उनको पनि खोजी कार्य भइरहेको छ,’ उनले भने ।
वडाध्यक्ष कुशेश्वर यादवका अनुसार गोबरगाढा बस्ती भारतीय सीमासित जोडिएको छ ।
सो बस्तीका गाईभैँसी चोरी गरी भारततर्फ लाने गरेकोमा पछिल्लो समय स्थानीय बिन्देश्वर रामको भैँसी चोरी भएको घटनामा स्थानीय बासिन्दाहरूले एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिई गोबरगाढामा राखेका थिए ।
ती भारतीय नागरिकलाई छुटाउन ३०–४० जनाको समूहमा आएका भारतीय नागरिकहरूले बस्तीमा फायरिङ गरी स्थानीयलाई कुटपिटसमेत गरेको उनले बताए ।