बैंक प्रबन्धककै संलग्नतामा किर्ते जग्गा र किर्ते धनी खडा गरी पौने तीन करोड ऋण प्रवाह

बुधबार, २५ माघ, २०७९
डिजिटल संस्करण

सप्तरीस्थित एनआइसी एसिया बैंक राजविराज शाखाका प्रबन्धक सन्तोषकुमार यादवले किर्ते जग्गाधनी खडा गरी पौने तीन करोड रुपैयाँ ऋण दिएको पाइएको छ । 

ऋणको रकम निकासा भएसँगै शाखाका प्रबन्धक यादव सम्पर्कविहीन भएपछि घटना बाहिरिएको हो । 

प्रबन्धक यादवले किर्ते जग्गा र किर्ते जग्गाधनी खडा गरी दुई करोड ८० लाख रुपैयाँ ऋण स्वीकृत गरेको नयाँ पत्रिकालाई प्राप्त जग्गा रोक्का विवरणमा उल्लेख छ । 

विवरणअनुसार किर्ते जग्गाधनी राजविराज नगरपालिका– ९ (तत्कालीन मलेठ गाविस वडा नम्बर ७) की वसिरन खातुनलाई प्रसवनी– ९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको धनी बनाइएको छ । 

सो जग्गा राजविराज नगरपालिका– ८ का रवीन्द्रकुमार यादवको नाममा मालपोत कार्यालयमा दर्ता छ । तर, प्रबन्धक यादवले खातुनलाई जग्गाधनी बनाई एनआइसी एसिया बैंक राजविराज शाखाबाट आइतबार रोक्का नम्बर १५१२०९८०एनएल०००२२९० मा जग्गा रोक्का गरिएको छ। 

स्रोतका अनुसार शाखाका प्रबन्धक यादव र व्यवसायी मो. समसाद खाँनले किर्ते जग्गाधनी प्रमाणपत्र तयार गरेर खातुनलाई जग्गाधनी बनाएका हुन् । यस्तै, एएस ट्रेडर्स एन्ड सप्लायर्सकी सञ्चालक रहेकी खातुनकै बुहारी नाता पर्ने राजविराज नगरपालिका– ९ की आसमा खातुनलाई ऋणी बनाएका हुन् । 

प्रबन्धक यादवले स्वीकृत ऋणमध्ये २२ देखि २४ माघसम्ममा दुई करोड ३० लाख रुपैयाँ निकासा दिएका थिए । तर, घटना बाहिरिएलगत्तै प्रबन्धक यादव र व्यवसायी खान सम्पर्कविहीन भएका छन् । 

भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख रामनारायण शर्माले प्रसवनी– ९ (ग) को कित्ता नम्बर २२१ को जग्गा नगरपालिका–८ निवासी रवीन्द्रकुमार यादवको नाममा रहेको स्पष्ट पारे ।

‘त्यो जग्गाको किर्ते धनी खडा गरी ऋण प्रवाह भएको कुरा मैले पनि सुनेको छु,’ उनले भने, ‘प्रसवनी– ९ (ग) को कित्ता नम्बर २२१ को जग्गा राजविराज नगरपालिका– ८ निवासी रवीन्द्रकुमार यादवको नाममा छ, ढुक्क हुनुस् ।’ 

एनआइसी एसिया बैंक केन्द्रीय कार्यालयका असिस्टेन्ट जेनेरल म्यानेजर अर्जुन खन्यालले आफूलाई जानकारी नरहेको भन्दै त्यसो गरेको पाइए कारबाही हुने बताए । ‘सामान्यतयाः यस्तो हुँदैन, तर त्यस्तो भएको रहेछ भने संलग्नलाई कारबाही हुन्छ,’ उनले भने । 

सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले यस विषयमा प्रहरीमा जानकारी आइनसकेको प्रतिक्रिया दिए । 

सुझावित समाचार