बायोमेट्रिक स्वास्थ्य परीक्षण रोक्न दिएको रिट सर्वोच्चद्वारा खारेज

बुधबार, २५ माघ, २०७९
डिजिटल संस्करण

मलेसिया जाने कामदारको नेपालमा नै स्वास्थ्य परीक्षण गर्ने कार्य निरन्तर रहने भएको छ। मंगलबार सर्वोच्च अदालतले मलेसिया जाने कामदारको नेपालमा हुने स्वास्थ्य परीक्षणविरुद्ध परेको रिट खारेज गरेसँगै यो विवाद समाप्त भएको छ।

३२ साउन ०७२ मा दर्ता भएको रिट सर्वोच्चको संयुक्त इजलासले खारेज गरेको हो। अधिवक्ता रामबाबु भण्डारीले उत्प्रेषणको आदेशको माग गर्दै दायर गरेको रिटमाथि सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले मागबमोजिमको आदेश जारी गर्न इन्कार गरेको हो। 

नेपाली कामदारहरू मलेसिया पुगेपछि स्वास्थ्य समस्या देखिन थालेपछि मलेसियन सरकारले नेपाली कामदारको स्वास्थ्य परीक्षणलाई नेपालमा नै कडाइ गर्ने निर्णय गरेको थियो। जसअनुसर मलेसिया सरकारले सन् २०१४ देखि स्वास्थ्य मापदण्ड बनाई स्वास्थ्य परीक्षणमा कडाइ गर्न थाल्यो। मलेसिया जाने नेपाली कामदारलाई नेपालमा नै स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको छनोट गर्याे।

हाल मलेसिया सरकारको विदेशी कामदार केन्द्रीय व्यवस्थापन प्रणालीसँग आबद्ध भएर नेपालका ३६ वटा स्वास्थ्य संस्थाले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका छन्। स्वास्थ्य परीक्षण पास भएको रिपोर्टलाई सीधै मलेसियाको गृह मन्त्रालयले अपलोड गरेपछि मात्रै भिसा जारी हुने कडा व्यवस्था छ। 

२०७५ कात्तिकमा नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतापछि दुई मुलुकका प्रतिनिधिहरूबीच सम्पन्न दोस्रो संयुक्त प्राविधिक बैठकले नेपालमा कामदारले स्वास्थ्य परीक्षण गर्दा लागेको खर्च मलेसिया पुगेपछि पहिलो महिनामा रोजगारदाताले शाेधभर्ना दिने निर्णयसमेत गर्यो। त्यसअघि स्वास्थ्य परीक्षणको खर्च कामदार आफैँले भुक्तानी गर्नुपर्ने व्यवस्था थियो ।

सो बैठकपछि नेपालभित्र नै स्वास्थ्य परीक्षण हुने सो रकम रोजगारदाताले शोधभर्ना गर्ने व्यवस्था भयो। स्वास्थ्य परीक्षणको क्रममा सुरक्षा जाँच (बायोमेट्रिक) पनि हुँदै आएको छ। यसले मलेसिया गएर नेपाल फर्केका कामदार मलेसियाको कालोसूचीमा रहेको वा नरहेको रेकर्ड राख्छ।  सो रेकर्डअनुसार मलेसियाले डिपोर्ट गरी पठाएका कामदार फेरि मलेसिया जान पाउँदैनन्।

गत शुक्रबार नेपाल आएका मलेसियामा गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले मलेसिया जाने कामदारको स्वास्थ्य जाँच गर्ने स्वास्थ्य परीक्षण केन्द्रको अनुगमनसमेत गरेका थिए। गृहमन्त्रीले सिनामंगलस्थित अनमोल मेडिकल सेन्टरको अवलोकन गरेका थिए।

अवलोकनपछि मलेसिया जाने कामदारको स्वास्थ्यप्रति आफ्नो मन्त्रालय सचेत रहेको बताए। आवश्यकताअनुसार स्वास्थ्य परीक्षण केन्द्रको मलेसियन सरकारले अनुगमनसमेत गर्ने उनले बताए। नेपालमा नै स्वास्थ्य परीक्षणमा कडाइ गरे पनि मलेसिया पुगेर स्वास्थ्य फेल हुने कामदारको संख्या घटेको छैन । 

सुझावित समाचार