पातारासीको उपल्लो भेग सञ्चारविहीन

बुधबार, २५ माघ, २०७९
डिजिटल संस्करण

जुम्लाको पूर्वीभेगमा पर्ने पातारासी गाउँपालिका उपल्लो भेग १ र २ नम्बर वडाका गाउँबस्ती सञ्चाररविहीन अवस्थामा छन्। 

यो भेगमा अहिले पनि खबर प्रदान–प्रदान गर्दा एक–अर्कामार्फत रैबार (खबर) पठाउने गरिन्छ। दर्जनबढी गाउँबस्तीमा खबर आदान–प्रदान गर्न यही विधि प्रयोग गर्ने गरिएको सामाजिक अभियन्ता भक्तबहादुर बुढाले बताए।

उनले भने, ‘पातारासी गाउँपालिका– २ को ढाँडा भन्ने ठाउँमा तीन वर्षअघि टेलिफोनको टावर निर्माण गर्न ठेक्का खोलिएको हो। तर, अहिलेसम्म निर्माण भएको छैन।’ 

उनका अनुसार टावर निर्माणका लागि केही सामग्री निर्माणस्थलमा पुगेका छन्। तर, काम अगाडि बढेको छैन। अलपत्र अवस्थामा रहेको टेलिफोन टावर निर्माण गरी फोरजी इन्टरनेट सञ्चालन गर्नका लागि स्थानीय सरकार पातारासी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र टेलिकम शाखाको ध्यानाकर्षण गरिएको उनले बताए। 

आकाशमा बादेल लागेको वेलामा, हिमपात पानी परेको अवस्थामा टेलिफोन टावरमा राखिएको सोलार प्यानल ब्याट्री चार्ज नहुने कारणले सञ्चार सम्पर्क बन्द हुने गरेको छ। 
हातमा स्मार्ट मोबाइल त छ, तर सम्पर्क गर्न कहिलेकाहीँ त हप्तौँ कुर्नुपर्छ। प्रहरी चौकीनजिकै टेलिफोनको टावरसमेत नभएको होइन। मोबाइलमा नेटवर्क आउन घाम कुर्नुपर्छ। 

तातोपानी गाउँपालिका जुम्लाको सदरमुकाम खलंगासँगै जोडिएको पालिका हो, तर टेलिफोन सेवाका लागि धेरै दुर्गमजस्तो मानिएको छ । तातोपानी गाउँपालिका ४, ५, ६ वडामा पर्ने गिडीखोला, नियापानी, पर्थेनी, पाण्डेबाडा, हाकु, गौतमबाडा, हियाखोला, ऐेरेनी, लाम्रा, श्रीनगर गाउँबस्तीका नागरिकले डेढ वर्षदेखि यो समस्या भोग्दै आएका छन्। 

यस्तै, सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका ८, ९, १० वडामा पर्ने खल्लागाउँ, सिलाम, बारकोटेवाडा, उमगाड, श्रीढुस्का, तलिउम, माझउम, जातिभिडलगायत बस्तीले पनि नेटवर्क समस्या भोग्दै आएका छन्।

यिनै गाउँबस्तीलाई लक्षित गरी नेपाल टेलिकम जुम्लाले स्थापना गरेको  हाँकु लाग्ना टेलिफोन टावरले घाम लागेपछि काम गर्ने हुनाले सेवाग्राहीले हैरानी खेप्नुपरेको हो। यो टावर सौर्य ऊर्जामार्फत सञ्चालनमा छ। 

नेपाल दूरसञ्चारको तथ्यांकले जुम्लाका सातवटै गाउँपालिका सबै गाउँबस्तीमा टेलिकम सेवा पुगेको देखाए पनि प्रभावकारी र गुणस्तरीय सेवा विस्तार नहुँदा सेवाग्राहीले हैरानी खेप्नुपरेको छ।

नेपाल टेलिकम शाखा जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार जुम्लामा टेलिफोनको फाइबर लाइन नभएसम्म समस्या समाधान हुने देखिँदैन। उनले भने दुर्गम क्षेत्रमा स्थापना गरिएका टेलिफोन टावर सञ्चालन गर्नका लागि सोलार प्रणाली राखिएको छ। सोलार प्रणाली वैकल्पिक ऊर्जा हो। 

घाम नलागेसम्म चल्दैन। सबै टावरमा विद्युतको लाइन पुर्याउन आवश्यक रहेको छ। टेलिकमै अप्टिकल फाइबर लाइन विस्तार नहुन्जेलसम्म वर्ल्डलिंकको फाइबर लिजमा लिएर सञ्चालन गर्ने  तयारी गरिएको छ। 

सुझावित समाचार