काठमाडौं महानगरले फुटपाथ नै ढाकेर प्रहरीले मैतीदेवीमा बनाएको प्रहरी बिटमा डोजर लगाएको छ । प्रहरी बिटका कारण पैदलयात्रीले सकस व्यहोरिरहेको भन्दै महानगरले उक्त संरचनामा डोजर चलाएको हो ।
महानगरका प्रवक्ता नवीन मानन्धरले प्रहरीसँगकै सल्लाहमा बिट भत्काइएको जानकारी दिए । ‘बिटले सडक नै ढाकेको थियो । प्रहरीसँगकै सहकार्यमा डोजर लगाएका हौँ,’ प्रवक्ता मानन्धरले भने । उनका अनुसार महानगरभित्र अनधिकृत रूपमा बनाइएका संरचनामा जुनसुकै समयमा डोजर लगाउन सक्नेछ । महानगरले पहिलोपटक यसरी सरकारी स्वामित्वको भवनमा डोजर लगाएको हो ।
महानगरको डोजर अभियान फेरि सुरु
भदौको अन्तिम सातादेखि रोकिएको डोजर अभियान महानगरले फेरि सुरु गरेको छ । तर, महानगरले भने काम नरोकेको र निरन्तर भइरहेको जनाएको छ । ‘डोजर लगाउने अभियान रोकिएको भन्ने होइन । अनधिकृत संरचनामा जुनसुकै वेला डोजर लगाउन सक्छ । लगाउँदै आइरहेका पनि छौँ,’ प्रवक्ता मानन्धरले भने ।
भवनको बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न महानगरले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको म्याद सकिएपछि ६ भदौमा बानेश्वरबाट कारबाही अभियान सुरु भएको थियो ।
८ भदौमा महानगरले काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेक्सअगाडिको अनधिकृत संरचनामा पनि डोजर लगाएको थियो । ९ भदौमा नयाँ बानेश्वरमा रहेको अल्फाबिटा कम्प्लेक्सले अनधिकृत रूपमा बनाइएको संरचनामाथि डोजर लगाउँदा अल्फाबिटाका प्रतिनिधि र मेयर बालेन्द्रबीच भनाभनसमेत भएको थियो ।