टर्की भूकम्प : दुई नेपाली पनि सम्पर्कविहीन

बुधबार, २५ माघ, २०७९
डिजिटल संस्करण

सोमबार टर्कीमा गएको महाभूकम्पपछि दुई नेपाली महिला कामदार सम्पर्कविहीन भएको गैरआवासीय नेपाली संघ टर्कीका महासचिव विनोद पौडेलले बताएका छन् । टर्कीको हातेय सहरमा घरेलु कामदारका रूपमा रहेका सपना तमाङ र मिठु तमाङ सम्पर्कविहीन भएको उनले बताएका हुन् । 

हातेय टर्कीको भूकम्प प्रभावित प्रान्तमध्येको एक हो । सम्पर्कविहीन भएका नेपालीलाई इस्तानबुलका साथीहरूले फोन र म्यासेजमार्फत बारम्बार सम्पर्क गर्ने प्रयास गरिरहेको संघका महासचिव पौडेलले बताए । ‘साथीहरूले फोन र म्यासेज गरिरहनु भएको छ । तर, सम्पर्क पनि भएको छैन ।

म्यासेज पनि सिन भएको छैन,’ उनले भने । संघले टर्कीको प्रकोप व्यवस्थापन तथा स्वास्थ्य मन्त्रालयको हटलाइनमा पनि बारम्बार सम्पर्क गसररहेको, तर अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको उनले बताए । ‘सम्पर्क गर्ने कोसिस गरिरहेका छौँ । आशा गरौँ, उहाँहरू कतै सुरक्षित हुनुहुन्छ,’ उनले भने ।त्यस्तै, सोही स्थानमा घरेलु कामदारका रूपमा कार्यरत सुनिता तामाङसँग पछिल्लोपटक सम्पर्क नभएको उनले बताए ।

उनका अनुसार भूकम्पपछि एकपटक सम्पर्क भएको उनका साथीहरूले जानकारी दिएका छन् । सम्पर्क हुँदा सुरक्षित भएको बताए पनि त्यसपछि भने उनीसँग सम्पर्क नभएको उनले बताए । 

 १८ नेपाली संघको सम्पर्कमा 
भूकम्पपछि टर्कीको विभिन्न सहरमा रहेका नेपालीहरू गैरआवासीय नेपाली संघको सम्पर्कमा आउन थालेको संघका महासचिव पौडेलले बताए । उनका अनुसार भूकम्प प्रभावित सहरमा रहेका १८ नेपालीले विभिन्न माध्यमबाट सम्पर्क गरेका छन् । 

जसमध्ये गाजियन्टेपमा रहेको तीन विद्यार्थी र तीन महिला कामदार सोमबार नै सम्पर्कमा आएका थिए । मंगलबार हातेयमा रहेका दुईजना विद्यार्थी सम्पर्कमा आएको संघका महासचिव पौडेलले बताए । केसरीमा सात विद्यार्थी सम्पर्कमा आएका छन् । सानलिउर्फा भन्ने स्थानबाट एकजना घरेलु कामदार सम्पर्कमा आएकी छिन् भने अन्य विभिन्न स्थानबाट दुईजना सम्पर्कमा रहेको उनले बताए । संघको सम्पर्कमा आएका नेपाली विद्यार्थी तथा कामदार सुरक्षित रहेको उनले बताए । 

भूकम्पपछि विद्यार्थीलाई विश्वविद्यालयले नै सेल्टरको व्यवस्था गरेको संघका महासचिव पौडेलले बताए । खान, बस्न र प्राथमिक उपचारको पनि व्यवस्था भइरहेको जानकारी पाएको उनले बताए । ‘विद्यार्थीहरू २० वर्षमुनिका छन् । मानसिक रूपमा त्रसित होलान् भनेर हामीले पनि बारम्बार सम्पर्क गरी ढाडस दिएका छौँ,’ उनले भने । आवश्यक परे उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याउने उनले बताए । ‘अहिले यहाँको अवस्था अस्तव्यस्त छ । विद्यार्थीलाई यतिकै ल्याउनु पनि भएन । विश्वविद्यालयको अनुमति पनि लिनुपर्ला । अवस्था नियन्त्रणमा आएपछि हामी आवश्यक सहयोग गर्नेछौँ,’ उनले भने ।

 ६ हजारभन्दा बढीको मृत्यु, घाइते २० हजारभन्दा धेरै
दक्षिण–पूर्वी टर्की र सिरियाको उत्तरी क्षेत्रलाई तहसनहस बनाएको सोमबारको भूकम्पमा मर्नेको संख्या अहिलेसम्ममा ६ हजार नाघेको र घाइतेको संख्या २० हजारभन्दा माथि पुगेको छ । भूकम्पमा परेर हताहती हुनेको संख्या बढ्दै गएपछि टर्कीले भूकम्पबाट अति प्रभावित दश प्रान्तमा तीन महिनाका लागि आपत्काल लगाएको छ ।

 भूकम्पले ६ हजारभन्दा धेरै भवन भत्किएर जमिनमा मिलेका छन् । भत्किएका भवनका भग्नावशेषमा निकै ठूलो संख्यामा मानिसहरू पुरिएको आशंका गरिएको छ । यसले मृतकको संख्या १५ हजारभन्दा बढी पुग्न सक्ने आकलन विज्ञहरूले गरेका छन् । भग्नावशेषबाट मानिसहरूलाई जीवितै उद्धार गर्न टर्कीले ३०औँ हजार उद्धारकर्मी परिचालन गरेको छ, तर विनाशको स्तर निकै ठूलो भएको र प्रतिकूल मौसमका कारण उद्धारकार्यमा निकै कठिनाइ भएको समाचारहरूले लेखेका छन् । 

टर्कीको स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ मा भूकम्प गएको थियो । गाजियन्टेप सहरलाई केन्द्रबिन्दु बनाएर पहिलोपटक गएको भूकम्प ७.८ रेक्टर स्केलको थियो भने दोस्रोपटक स्थानीय समयअनुसार मध्याह्नको १ः१५ मा ७.५ रेक्टर स्केलको गएको थियो । 

सुझावित समाचार